१८ माघ, २०८२काठमाडौं । कास्की जिल्लाका तीनवटा निर्वाचन क्षेत्रमध्ये कास्की क्षेत्र नं २ मा समेटिएका भू-भाग कहिले कुनै क्षेत्रमा त कहिले कुनै क्षेत्रमा अदलबदल भइरहेको पाइन्छ । विसं २०४८ देखि २०६४ सालसम्म तीन मात्र निर्वाचन क्षेत्र रहेको कास्कीमा २०६४ सालदेखि २०७० सालसम्म चारवटा निर्वाचन क्षेत्र कायम गरिएको थियो । तर २०७४ सालपछि पुनः तीनवटा निर्वाचन क्षेत्र कायम भएका छन् ।
पछिल्लो भौगोलिक संरचनाअनुसार यो क्षेत्र यसअघिको क्षेत्र नं ३ का अधिकांश वडा मिलाएर बनाइएको छ । अघिल्लो भौगोलिक विभाजनअनुसार ३ नम्बर क्षेत्रमा रहेका ७ र ३ नम्बर क्षेत्रमा रहेका ४ वटा वडा हाल यस क्षेत्रमा पर्छन् । पोखराका ४, ७, ८, ९, १७, २१ र ३३ नं वडा पहिले ३ नम्बरमा रहेका थिए भने अन्य ११, १५, १६ र २० नं वडा भने २ नम्बर क्षेत्रमा पर्दथे । विसं २०६४ अघि २ नम्बर क्षेत्र ८ वटा तत्कालीन गाविस र पोखरा उप-महानगरपालिका मिलेर बनाइएको थियो ।
विसं २०६४ को निर्वाचनमा यस निर्वाचन क्षेत्रमा पुम्दीभुम्दी, कृष्तीनाच्ने चौर, निर्मलपोखरी, काहूँ, भलाम, लामाचौर, आर्वा र मौजा गाविस तथा पोखरा उप-महानगरका १८ वटा वडा पर्दथे । यस निर्वाचनमा निर्वाचन क्षेत्र नं २ मा कुल मतदाता ८४ हजार १३४ जना रहेको र मतदान केन्द्रको सङ्ख्या ९७ रहेको निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए ।
यस क्षेत्रमा पोखरा महानगरका सबै वडा परे पनि अधिकांश विकासका दृष्टिले पछि परेको मतदाताको गुनासो छ । विकास र समृद्धिका विषय चुनावका समयमा राम्रै उठे पनि चुनाव सकिएपछि त्यसको कार्यान्वयनका विषय भने ओझेलमा परिरहेको यहाँका मतदाता बताउँछन् । यस क्षेत्रको वडा नं १६ भई जाने मध्यपहाडी लोकमार्गको विवाद लामो समयदेखि समाधान हुन नसक्दा काम अघि बढ्न नसकेको स्थानीय मतदातासमेत रहेका अधिवक्ता हरिप्रसाद भट्टराईले बताए ।
‘लोकमार्गअन्तर्गत यस क्षेत्रको अर्मलाकोटदेखि जौबारीसम्मको सडक खण्डको दुई वर्षअघि नै ट्रयाक खुल्नुपर्ने भए पनि यस मार्गमा जग्गा पर्ने स्थानीयले अदालतमा मुद्दा दायर गरेकामा अदालतले अन्तरिम आदेश जारी गरेका कारण काम रोकिएको छ,’ उनले भने, ‘समस्या समाधानका लागि जग्गाधनीसँग राज्यले समन्वय गरेको देखिँदैन, पीडितलाई उचित मुआब्जा दिएर यो समस्याको समाधान गर्नुपर्ने आवश्यकता छ ।’
वडा नं १६ को महेन्द्र गुफादेखि अर्मलाकोटसम्मको सडकलाई कालोपत्र गर्ने विषयलाई पनि यसपटकको चुनावमा उम्मेदवारसँग प्रतिबद्धता खोजिने मतदाता बताउँछन् । पोखरालाई खानेपानी पुर्याउने मुख्य स्रोत अर्मला रहे पनि यहाँका केही बस्ती खानेपानीबाटै वञ्चित बनेको अधिवक्ता भट्टराईले बताए ।
यस क्षेत्रको समृद्धि र विकासका लागि कृषि र पर्यटन नै प्रमुख सम्भावनाको क्षेत्र भएको बताउने स्थानीय यहाँस्थित कालीलेकमा भएका जडीबुटीलाई आयआर्जनको महत्त्वपूर्ण विकल्प बनाउन सकिने बताउँछन् । कालीलेक क्षेत्रमा पाइने दुर्लभ वनस्पति लौठसल्ला आदिको भरपुर उपयोग हुनुपर्ने स्थानीयको तर्क छ । यहाँको चोकोडाँडालगायतको पर्यटकीय उपयोग हुनुपर्नेमा उनीहरूको जोड छ ।
कुनै बेला मूलागाउँका रूपमा परिचय बनाइसकेको अर्मलामा अहिले मूलाको उत्पादन कम हुँदै गएको बताउँदै भट्टराईले यस क्षेत्रलाई कृषिको पकेट क्षेत्रका रूपमा विकास गर्दै स्थानीयको आयआर्जन बढाउन सकिने बताए । महानगरका रूपमा विभिन्न किसिमका चर्को दररेटका कर तथा तिरो तिर्ने गरे पनि महानगरको अनुभूति गर्न भने नपाइएको यहाँका मतदाताको गुनासो छ ।
यस निर्वाचन क्षेत्रभित्र मुख्य बजार क्षेत्रमा रहेका वडा नं ४, ७, ८, ९, ११, १५, १७ का स्थानीयवासी व्यवस्थित सहरीकरणको अपेक्षामा छन् भने महानगरका वडा भएर पनि १६, २०, २१ र ३३ नं वडाभित्रका कतिपय स्थान अझै दुर्गमजस्तै रहेको स्थानीयको दुखेसो छ । महानगरको वडा नं ३३ स्थित सुरौदी तथा चवादी क्षेत्रमा पोखराबाट सिधै नभई तनहुँको दुलेगौडाबाट जान सजिलो छ । सडक तथा यातायतको पहुँच अभावकै कारण यहाँका सर्वसाधारण आफ्नै जिल्लाको सदरमुकाम पोखरा जान पनि तनहुँको दुलेगौडा हुँदै जानुपर्ने बाध्यता रहेको समाजसेवी यामप्रसाद पौडेलले बताए ।
यस क्षेत्रमा बग्ने सुरौदी खोलाको कटान नियन्त्रणका लागि पटक-पटकका चुनावमा भोट माग्न आउने उम्मेदवारलाई समस्या दर्साउने गरेका यहाँका स्थानीयले उम्मेदवार तथा पार्टीबाट चुनावका समयमा राम्रै आश्वासन पाए पनि त्यसलाई व्यवहारमा भने देख्न नपाएको सुरौदीका अगुवा किसान रमेश आचार्यको भनाइ छ । सुरौदी खोलाको जलाधार नियन्त्रण गर्दै आसपासका जग्गामा सिँचाइ उपलब्ध गराउन सकेमा यहाँको उत्पादनले समग्र पोखरालाई नै आत्मनिर्भर बनाउन सक्ने अवस्था रहेको उनले बताए ।
यहाँका केही स्थानमा झोलुङ्गे पुल अत्यावश्यक रहेको स्थानीयवासी बताउँछन् । जलाधार क्षेत्रको सुरौदी खोलामाथि तिखेढुङ्गा र पहरे जोड्ने झोलुङ्गे पुल नहुँदा यस क्षेत्रमा खेतीपाती र आवतजावत गर्नेहरूले बर्खाका समयमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको उनीहरूको दुखेसो छ ।
यस क्षेत्रमा खोला तर्ने पुलका लागि यहाँबाट माथि वा तल ५-७ किलोमिटर हिँड्नुपर्ने बाध्यताका कारण पनि तत्कालै झोलुङ्गे पुल अपरिहार्य देखिएको उनीहरूको तर्क छ । यस क्षेत्रको दोभानस्थित टुनीखोला र कदमबोटे-कुर्लिङ क्षेत्रमा पक्की पुल अपरिहार्य देखिएको उनले बताए ।
सुरौदीको जल सम्पदाको उपयोग गर्दै जलपर्यटनको विकाससँगै यस क्षेत्रमा रहेको सुरौदी क्षेत्रको कुर्लिङ बराह, पुँडीटारको भुलभुला बाराही, भरतपोखरीको ऐतिहासिक मल्लकालीन कोटभैरव मन्दिरलाई धार्मिक पर्यटनको गन्तव्य बनाउन सकिने स्थानीयवासी बताउँछन् । यहाँका हुडिकोट बरपाण्डेथुमजस्ता क्षेत्रको पर्यटकीय विकाससँगै दूधको सहरका रुपमा पहिचान बनाएको बागमारा क्षेत्रलाई कृषि पर्यटनको पकेट क्षेत्रका रूपमा विकास गर्न सकिने देखिन्छ । कर महानगरकै तिरेर पनि महानगरवासीको अनुभूति गर्न नपाएको दुखेसो गर्ने यहाँका मतदाताले आसन्न निर्वाचनमा उम्मेदवारसँग यी विषयहरूमा प्रतिबद्धता खोज्ने जनाएका छन् ।
यस निर्वाचनमा यस क्षेत्रमा १७ जनाले उम्मेदवारी दर्ता गराएकामा १२ राजनीतिक दलका र पाँच स्वतन्त्र उम्मेदवार रहेका छन् । यस क्षेत्रमा नेपाली कांग्रेसबाट माधवप्रसाद बास्तोला, नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट रश्मि आचार्य, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट हेमबहादुर थापा पराजुली, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उत्तमप्रसाद पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट हेमजङ्ग गुरुङलगायत चुनावी प्रतिस्पर्धामा रहेका छन् ।


