News Portal

  • ५० अर्बको परियोजना अघि बढाउने काम थालिएको छ : अध्यक्ष ढकाल

    आर्थीकसंसार संवाददाता१५ मंसिर,, २०८२
    ८ पटक
    १५ मंसिर,, २०८२

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा केही हुँदैन भन्ने भाष्य सिर्जना गर्न खोजिएको बताउँदै त्यसलाई चिर्न जरुरी रहेको बताएका छन् । सोमबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २९औँ वार्षिक साधारण सभामा अध्यक्ष ढकालले यस्तो बताएका हुन् ।

    अध्यक्ष ढकालका अनुसार नेपालकै पुँजीबाटै धेरै ठूला आयोजना निर्माण गर्न सकिने सम्भावना छ । ठूला पूर्वाधार निर्माणका लागि नेपाल डेभलपमेन्ट पब्लिक (एनडीपी) स्थापनाको उद्देश्य पनि यही रहेको उनले बताए । उनका अनुसार व्यवसायीलाई समेटेर नेपालकै पुँजी परिचालन गरी ४०–५० अर्ब रुपैयाँका परियोजना अघि बढाउने काम थालिएको छ । नेपालमै लगानीको सकारात्मक वातावरण रहेको सन्देश दिनका लागि पनि एनडीपीको योजनालाई अघि बढाइएको उनले स्पष्ट पारे । ढकालले आम व्यवसायीसँगै नागरिकको मनोबल उकास्ने गरी अब सरकारले काम गर्न जरुरी रहेको पनि बताए ।

    महासंघ अध्यक्ष ढकालले भने– ‘वास्तवमा सुरक्षाको कुरा अत्यन्तै महत्वपूर्ण छ । आउने दिनमा कुनै एउटै व्यवसायी वा व्यक्तिभन्दा पनि आम नागरिकलाई आत्मविश्वास दिलाउने खालको सुरक्षा व्यवस्था मिलाइनुपर्छ ।’

    सोही कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष वीरन्द्रबहादुर पाण्डेले मुलुकमा चुनावपछि निजी क्षेत्रले लगानी वातावरणमा सुधार हुने अपेक्षा राखेको बताए । निर्वाचनअघि बनेको यो सरकारले नीतिगत विषयहरूलाई प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा उनले जोड दिए ।

    अध्यक्ष पाण्डेले भने– ‘अर्थतन्त्रको कुनै एउटै क्षेत्रमा समस्या आउँदा त्यसको असर समग्र अर्थतन्त्रमा पर्छ । आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्दै दीगो विकासका लागि नीतिगत तथा कानुनी सुधार अनिवार्य छ ।’

    उनका अनुसार जेनजी आन्दोलनपछिको सिथिलतालाई सबैले मिलेर सामना गर्दै सबल अर्थतन्त्रका लागि अघि बढ्नुपर्ने आवश्यकता रहेको छ ।

     

    प्रतिकृया दिनुहोस्