News Portal

  • कृषि मन्त्रीसँग गभर्नरले भने- माटो खेलाउनेले होइन, कागज खेलाउनेले ऋण पाउँछन्

    आर्थीकसंसार संवाददाता२३ असार, २०८२
    ११ पटक
    २३ असार, २०८२

    काठमाडौं । कृषि तथा पशुपक्षी विकास मन्त्री राम नाथ अधिकारीले कृषि कर्जालाई सरलीकृत बनाउने गरी आवश्यक प्रबन्ध गरिदिन नेपाल राष्ट्र बैंकलाई आग्रह गरेका छन् ।

    केन्द्रीय बैंकका गभर्नर डा विश्वनाथ पौडेलसँग छलफलमा मन्त्री अधिकारीले कृषिमार्फत गरिबी हटाउनका लागि बैंक तथा वित्तीय संस्थाको भूमिका महत्वपूर्ण हुने भएकाले साना किसानले पनि सरल र सहज किसिमले ऋण प्राप्त गर्ने प्रावधानको आवश्यकता औंल्याए ।

    ‘कृषि ऋणको सही उपयोग भयो कि भएन यसको प्रभावकारी अनुगमनका लागि म नेपाल राष्ट्र बैंक समक्ष अनुरोध गर्दछु,’ मन्त्री अधिकारीले भने ।

    मन्त्री अधिकारीले कसैले ऋण नपाउने, पाउनेले अन्य प्रयोजनमा लगाउने अवस्था आउन नहुनेमा जोड दिए । सरकारी स्वामित्वका बैंकहरुले पनि कृषि कर्जा बढाउनुपर्ने र राष्ट्र बैंकको कृषि कर्जा सम्बन्धमा गरिएको व्यवस्थाको पालना उनीहरुले गर्नुपर्नेमा मन्त्री अधिकारीले जोड दिए ।

    नेपाल राष्ट्र बैंकका गभर्नर डा पौडेलले हाल कृषिमा भएको लगानीको सदुपयोग हुन नसकिरहेको सन्दर्भमा आफ्नो पनि चासोको विषय भएकाले प्रतिफल आउने गरी काम गर्न जरुरी रहेको बताए ।

    किसानलाई व्यावसायिक नबनाइ कृषिमा भएको लगानीको प्रतिफल प्राप्त हुन नसक्ने भएकाले प्रतिफल आउने गरी लगानीको आवश्यकतामा गभर्नर डा पौडेलले जोड दिए ।

    आफू हालै विभिन्न जिल्लामा जाँदा माटो खेलाउनेले  कृषि ऋण नपाउने, कागज खेलाउनेले ऋण पाउने गरेको गुनासो पनि सुनेको उनको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्