
काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले बैंकमा पनि कनै लगानीकर्ताको लगानी रहेकोले ती लगानीकर्ताले पनि नियमित प्रतिफल पाउने वातावरण बन्नुपर्ने बताएका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले पछिल्लो समय केही नीतिगत कारणले बैंकहरुको लाभांश क्षमता घटेको र केहीले लाभांश वितरण नै गर्न नसक्ने अवस्था रहेकोले यो परिस्थिति कहिलेसम्म रहने भन्ने प्रश्न गरेका हुन् ।
माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) समेत रहेका उनले कार्यक्रममा भने, ‘बैंकमा पनि कुनै लगानीकर्ताको लगानी छ, पछिल्लो समय बैंकहरु लाभांश दिन सक्ने अवस्थामा छैनन्, बैंकहरुले लाभांश कहिले वितरण गर्न पाउँछन् ? त्यसैले लचिलो नीति आवश्यक छ, लचिलो नीति आयो भने अर्थतन्त्र बाउन्स ब्याक हुन मद्दत पुग्छ ।’
उनले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमार्फत त्यस्तो सहज नीतिको अपेक्षा व्यक्त गरे । उनले अहिले बैंकिङ क्षेत्रले सम्पत्ति व्यवस्थापनको समस्या भोगिरहेको सुनाए । उनले बैंकको गैर बैंकिङ सम्पत्ति व्यवस्थापनका लागि एउटा शक्तिशाली ‘एसेट म्यानेज्मेन्ट कम्पनी’ आवश्यक रहेको धारणा राखे ।
‘बैंकहरुले पनि गैर–बैंकिङ सम्पत्ति बिक्री गर्ने प्रयास गरिरहेका छन् । तर, स्थानीय तहले सहयोग गरेका छैनन् । एउटा घर बिक्रीका लागी स्थानीय तहमा अनुमति माग्दा स्थानीय तहले स्वीकृति दिइरहेको छैन । सम्पत्ति बिक्रीका लागि कुनै पनि निकाय नधाउने गरि सम्पत्ति व्यवस्थापन कम्पनी चाहियो,’ उनले भने ।
उनले लिलामको सूचनामा फोटो राख्न नपाइने वा नाम उल्लेख नगर्ने व्यवस्थाले मात्रै समस्याको समाधान नहुने तर्क राखे ।
उनले मौद्रिक नीतिमार्फत ‘डिरेक्टिभ सेक्टर लेण्डिङ पोलिसी’ पनि पुनरावलोकन हुनु पर्ने बताए । अहिले बैंकको औसत आधार दर ६ प्रतिशत हुँदा पनि ८ खर्ब लगानीयोग्य रकम बैंकिङ क्षेत्रमा रहेको सुनाउँदै त्यो रकम प्रवाह हुन सक्ने नीतिको आवश्यकता रहेको धारणा राखे ।