![](https://aarthiksansar.com/wp-content/themes/aarthiksansar/images/1px.gif)
काठमाडौं । गोरखा जिल्लाको पालुङटार नगरपालिका, लमजुङ जिल्लाको राईनास नगरपालिका र तनहुँ जिल्लाको भानु नगरपालिका भएर बग्ने मर्स्याङ्दी नदीमा एमए पावरले निर्माण गर्ने ९० मेगावाटको मर्स्याङ्दी नदी अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा कुमारी बैंकको अगुवाइमा आज लगानी सम्बन्धी सम्झौता सम्पन्न भएको छ।
एमए पावरका अध्यक्ष अनुप आचार्य र कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालको उपस्थितिमा कुमारी बैंकक, प्रभु बैंक, सिद्धार्थ बैंक, कृषि विकास बैंकलगायतका विभिन्न बैंक तथा वित्तीय संस्थाको १५ अर्ब १८ करोड ७५ लाख रुपैयाँको संयुक्त लगानीमा आयोजना निमार्ण हुने गरी ऋण सम्झौता सम्पन्न भएको हो। स्वपुँजी लगानीतर्फ अनुप आचार्य, हरिबाबु न्यौपाने र दीपक बरालको हुनेछ।
यसका साथै डोल्मा इम्पाक्ट फन्डले पनि कम्पनीमा ४९ प्रतिशतसम्म स्वपुँजी लगानी गर्न पूर्वआवश्यक ड्यु डिलिजेन्स स्टडी अगाडिे बढाएको कम्पनीका अध्यक्ष आचार्यले बताए। यही समूहबाट हाल सेतीखोला हाईड्रोपावरमार्फत सेतीखोला जलविद्युत आयोजना २२ मेगावाट निर्माण कार्य अन्तिम चरणमा रहेको छ।
आयोजनाको नेपाल विद्युत प्राधिकरणसँग २०८० साल कात्तिक १ गते विद्युत खरिदबिक्री सम्झौता सम्पन्न भई व्यपारिक उत्पादन सुरु गर्नुपर्ने मिति (आरसीओडी) २०८६ साल वैशाख २२ रहेको छ। आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन (ईआईए) स्वीकृतिका लागि सम्बन्धित निकायमा पेश भएको कम्पनीका अध्यक्ष आचार्यले बताए। आयोजनाबाट उत्पादित विद्युत् विद्युतगृहदेखि २२० केभी सिंगल सर्किट प्रसारण लाइनमार्फत ११.६ किलोमिटर दूरीमा नेपाल विद्युत प्राधिकरणको मार्किचोक सबस्टेसनमा २२०÷१३२ केभीमा जोडिनेछ।