
६ भदौ, २०८३काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले वस्तुगत संघका नवनिर्वाचित पदाधिकारीहरूको सम्मानमा स्वागत तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । महासंघको वस्तुगत परिषद्को आयोजनामा भएको कार्यक्रममा विभिन्न वस्तुगत संघका अध्यक्ष तथा पदाधिकारीहरूलाई बधाई ज्ञापन स्वागत गरिएको हो ।
कार्यक्रममा महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले निजी क्षेत्रका समस्या समाधान, नीतिगत सुधार र व्यवसायमैत्री वातावरण निर्माणका लागि वस्तुगत संघहरूको भूमिका महत्वपूर्ण रहेको बताए ।
उनले आ–आफ्नो क्षेत्रका समस्या र सम्भावनालाई महासंघमार्फत सरकारसमक्ष प्रभावकारी रूपमा उठाउन वस्तुगत संघहरूलाई आग्रह गरे । ‘सबै वस्तुगत समितिका समस्याहरु महासंघका साझा समस्याहरु हुन् । महासंघ यी समसयाहरु सरकार संग राख्न र समाधानको लागि पहल गर्न सदैव तयार छ,’ उनले भने ।
अध्यक्षा श्रेष्ठले अहिले व्यवसायीहरु त्रसित अवस्थामा रहेको, व्यवसायिक वातावरण बिग्रिरहेको, बजारमा माग नभएको उल्लेख गर्दै अर्थतन्त्र चलायमान बनाउन व्यवसायिक वातावरण निर्माण गर्न र उद्योगी व्यवसायीहरुको मनोबल बढाउन सरकासंग आग्रह गरे ।
कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्यले निजी क्षेत्रको आवाजलाई अझ प्रभावकारी बनाउन वस्तुगत संघहरूको सक्रिय सहभागिता आवश्यक रहेको बताए । उनले संघहरूले आफ्ना क्षेत्रका समस्या तथ्यसहित प्रस्तुत गर्नुपर्नेमा जोड दिए ।
त्यसैगरी महासंघका उपाध्यक्ष कृष्णप्रसाद शर्माले वस्तुगत संघहरूका समस्या समाधानमा महासंघले सहजीकरणको भूमिका निर्वाह गर्ने बताए । उनले निजी क्षेत्रका साझा मुद्दामा एकीकृत आवाज बनाउनुपर्नेमा जोड दिए ।
वस्तुगत परिषद्का सभापति एवं महासंघका उपाध्यक्ष नरेशलाल श्रेष्ठले वस्तुगत संघहरू महासंघका महत्वपूर्ण आधारस्तम्भ भएको बताउँदै संघहरूबीचको सहकार्य र समन्वयलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे । उनले उद्योग व्यवसायका साझा समस्या पहिचान गरी समाधानका लागि महासंघमार्फत पहल गरिने बताए ।
महासंघका उपाध्यक्ष प्रवलजंग पाण्डेले उद्योग व्यवसायको विकासका लागि नीतिगत स्थिरता, लगानीमैत्री वातावरण र प्रतिस्पर्धी बजार आवश्यक रहेको बताए । उनले वस्तुगत संघहरूले आफ्ना क्षेत्रका समस्या र सुधारका विषय महासंघसँग निरन्तर समन्वय गर्नुपर्ने धारणा राखे ।
वस्तुगत परिषद्का उपसभापति भक्तबहादुर हमालले धन्यवाद ज्ञापन गर्दै वस्तुगत संघहरूबीचको सहकार्यलाई थप सुदृढ बनाउँदै निजी क्षेत्रका साझा मुद्दालाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा नेपाल औषधी उत्पादक संघका अध्यक्ष विप्लव अधिकारी, नेपाल गलैंचा उत्पादक तथा निकासीकर्ता संघका अध्यक्ष बलराम गुरुङ, नेपाल कुरियर सेवा संघका अध्यक्ष अनिल राजभण्डारी, नेपाल डेरी एशोसिएसनका अध्यक्ष प्रल्हाद दाहाल, नेपाल जग्गा तथा आवास विकास संघका अध्यक्ष दीपक कुँवर, नेपाल ईटा उद्योग महासंघका अध्यक्ष कृष्णप्रसाद, नेपाल होस्टल एशोसिएसनका अध्यक्ष नरेन्द्रबहादुर बोहोरा, नेपाल पर्यटक यातायात व्यवसायी संघका अध्यक्ष भीमबहादुर गोले तामाङ तथा रुद्राक्ष व्यवसायी संघका अध्यक्ष मनोजकुमार चापागाईंले आ–आफ्नो क्षेत्रका समस्या, चुनौती तथा सम्भावनाबारे धारणा राखेका थिए ।
उनीहरूले औषधी उद्योग, गलैंचा तथा निर्यात, कुरियर सेवा, डेरी, घरजग्गा तथा आवास, इँटा उद्योग, होस्टल व्यवसाय, पर्यटक यातायात र रुद्राक्ष व्यवसायमा देखिएका नीतिगत तथा व्यावहारिक समस्या समाधानका लागि सरकार र महासंघबाट आवश्यक पहल हुनुपर्नेमा जोड दिए । कार्यक्रममा नवनिर्वाचित पदाधिकारीहरूलाई महासंघका अध्यक्ष, वस्तुगत परिषद्का सभापति तथा पदाधिकारीहरूले खादा लगाई स्वागत तथा बधाई ज्ञापन गरेका थिए ।