News Portal

  • कृषि विकास बैंकको मोबाइल एपबाट १० लाखसम्म पुरस्कार जित्ने अवसर

    आर्थीकसंसार संवाददाता५ भदौ, २०८३
    १२ पटक
    ५ भदौ, २०८३

    काठमाडौं । कृषि विकास बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ एप ‘एडीबीएल स्मार्ट प्लस’मा आन्तरिक राजस्व विभाग (आईआरडी)को करदाता प्रोत्साहन कार्यक्रम समावेश गरेको छ ।

    डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने तथा कर अनुपालन बढाउने उद्देश्यले बैंकले एपमा यस्तो सुविधा थपेको जनाएको छ ।

    नेपाल सरकार तथा आन्तरिक राजस्व विभागद्वारा सञ्चालित यस कार्यक्रमअन्तर्गत १०० रुपैयाँभन्दा बढीको क्यूआर भुक्तानी गर्ने ग्राहकले दैनिक १ लाख रुपैयाँसम्म र प्रत्येक १५ दिनमा १० लाख रुपैयाँसम्मको बम्पर नगद पुरस्कार जित्ने अवसर पाउनेछन् ।

    कसरी सहभागी हुने ?

    कार्यक्रममा सहभागी हुन ग्राहकले नेपालभित्र व्यक्तिगत प्रयोजनका लागि १०० रुपैयाँभन्दा बढीको वस्तु वा सेवा खरिद गरी कृषि विकास बैंकको मोबाइल बैंकिङ एपमार्फत मर्चेन्ट क्यूआर प्रयोग गरेर भुक्तानी गर्नुपर्नेछ ।

    त्यसरी भुक्तानी गर्दा सम्बन्धित प्यान वा भ्याट बिल लिएर प्रमाणीकरणका लागि सुरक्षित राख्नुपर्नेछ ।

    दैनिक १ लाखदेखि बम्पर १० लाखसम्म पुरस्कार

    आन्तरिक राजस्व विभागले तोकेको व्यवस्थाअनुसार योग्य डिजिटल कारोबार स्वतः भाग्यशाली छनोट प्रक्रियामा सहभागी हुनेछन् ।

    एक जना भाग्यशाली ग्राहकले दैनिक पुरस्कारका रूपमा कर कट्टीपछि १ लाख रुपैयाँ नगद पाउनेछन् । त्यस्तै, प्रत्येक १५ दिनमा एक जना ग्राहकले १० लाख रुपैयाँको बम्पर नगद पुरस्कार जित्नेछन् ।

    एपबाटै कारोबार र पुरस्कारको अवस्था हेर्न सकिने

    कृषि विकास बैंकले ‘एडीबीएल स्मार्ट प्लस’मा छुट्टै ‘आईआरडी इन्सेन्टिभ प्रोग्राम’ मेनु थपेको छ । यसमार्फत ग्राहकले आफूले गरेका योग्य कारोबारको संख्या, विस्तृत विवरण तथा कारोबारको इतिहास हेर्न सक्नेछन् ।

    त्यसैगरी, ग्राहकले आफ्नो पुरस्कारको अवस्था र भाग्यशाली छनोटको नतिजासमेत एपबाटै हेर्न सक्ने बैंकले जनाएको छ ।

    बैंकले ग्राहकलाई मर्चेन्ट क्यूआरमार्फत डिजिटल भुक्तानी गर्न, प्यान वा भ्याट बिल लिन तथा एपमार्फत आफ्नो योग्यता नियमित रूपमा जाँच गर्न आग्रह गरेको छ ।

    यस कार्यक्रमले डिजिटल कारोबार विस्तार गर्दै नगदरहित अर्थतन्त्र निर्माण र वित्तीय पारदर्शिता बढाउन योगदान पुर्याउने बैंकको विश्वास छ ।

    प्रतिकृया दिनुहोस्