
१ भदौ, २०८३काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले घरजग्गा तथा जग्गा खरिद गर्ने भएको छ । कम्पनीले कार्यालय तथा व्यावसायिक प्रयोजनका लागि काठमाडौं उपत्यकाभित्र घरजग्गा तथा जग्गा खरिद गर्न लागेको हो ।
कम्पनीले नेपाल बीमा प्राधिकरणद्वारा जारी ’बीमकको स्थिर सम्पत्ति खरिद तथा बिक्री सम्बन्धी निर्देशन, २०८२’ बमोजिम घरजग्गा खरिद प्रक्रिया अगाडि बढाएको जनाएको छ ।
कम्पनीका अनुसार खरिद गरिने घरजग्गा मुख्य व्यावसायिक तथा कार्यालय क्षेत्रमा अवस्थित हुनुपर्नेछ । घरसहित वा घररहित जग्गाको क्षेत्रफल कम्तीमा २४ आना हुनुपर्ने तथा कम्तीमा २० फिट फराकिलो सडक वा पहुँच मार्गसँग जोडिएको हुनुपर्ने शर्त राखिएको छ ।
बिक्री प्रस्ताव पेस गर्ने व्यक्ति वा संस्थाले घरजग्गाको स्पष्ट अवस्थिति खुल्ने नक्सा, जग्गाधनी प्रमाण पुर्जा, नापनक्सा, चारकिल्ला प्रमाणपत्र, नागरिकताको प्रतिलिपि, सम्पत्ति कर चुक्ता रसिदलगायतका कागजात अनिवार्य रूपमा संलग्न गर्नुपर्ने कम्पनीले जनाएको छ ।
घर निर्माण भइसकेको अवस्थामा निर्माण सम्पन्न प्रमाणपत्र र निर्माणाधीन अवस्थामा स्वीकृत भवन निर्माण इजाजतपत्र पेस गर्नुपर्ने व्यवस्था गरिएको छ । संस्थागत जग्गाधनीका हकमा दर्ता प्रमाणपत्र, कर चुक्ता प्रमाणपत्र, अख्तियारनामा तथा अन्य आवश्यक कागजातसमेत पेस गर्नुपर्नेछ ।
कम्पनीले प्रस्तावित घरजग्गामा कुनै प्रकारको कानुनी विवाद, मुद्दा वा स्वार्थको द्वन्द्व नरहेको स्वघोषणा पनि अनिवार्य गरेको छ । इच्छुक व्यक्ति तथा संस्थाले २१ दिनभित्र शिलबन्दी प्रस्ताव कम्पनीको प्रधान कार्यालयस्थित खरिद इकाईमा पेस गर्नुपर्नेछ ।