
काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिम जिल्लामा वर्षाको सम्भावना नरहेको जनाएको छ । आजदेखि दुई–तीन दिनसम्म बादल लागे पनि पानी भने नपर्ने मौसमविद गोविन्द झाले जानकारी दिए ।
‘हामीले तीन दिनसम्मको मौसम पूर्वानुमान गर्छौं, अहिलेको अवस्था हेर्दा भूकम्प प्रभावित जिल्लामा दुई–तीन दिनसम्म पानी पर्ने सम्भावना देखिएको छैन,’ उनले भने ।
मौसमविद झाका अनुसार उच्च पहाडी र हिमाली भेगमा भने फाट्टफुट्ट हिमपातको सम्भावना छ । ‘तर डिस्टर्ब नै हुने गरी हिमपात हुँदैन,’ उनले भने ।
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा छ ।
शुक्रबार राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा आसपास केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प जाँदा रुकुम पश्चिम र जाजरकोटमा ठूलो मानवीय र भौतिक क्षति पुगेको छ ।