काठमाडौं । धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी देशव्यापीरुपमा शिक्षा तथा सचेतना अभिवृद्धि गरी लगानीकर्ता सशक्तीकरण गर्ने उद्देश्यले नेपाल धितोपत्र बोर्डले नियमनकर्ताको अन्तर्राष्ट्रिय संगठनको आह्वानमा असोज १५ देखि असोज २१ गतेसम्म देशभरि विभिन कार्यक्रम आयोजना गरी विश्व लगानीकर्ता सप्ताह–२०२३ मनाएको छ।
सोही अवसरमा आरबीबी मर्चेन्ट बैंकिङले पनि असोज १९ गते चितवनको भरतपुरस्थित वीरेन्द्र बहुमुखी क्याम्पसमा स्नातकोत्तर तहको व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थी तथा शिक्षकमाझ लगानीकर्ता सचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको छ।नेपाल मर्चेन्ट बैंकर एसोसिएसनको पहलमा आयोजना भएको कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंकको भरतपुरका शाखा प्रमुख सविनराज अधिकारीका साथै अन्य कर्मचारी, वीरेन्द्र बहुमुखी क्याम्पसका प्रमुख प्रा.दयाराम पौडेल, वित्त संकाय प्रमुख डा. सुदीप वाग्ले तथा अध्ययनरत विद्यार्थीेकोे उल्लेख्य उपस्थिति थियो।