News Portal

  • नेपाल विद्युत प्राधिकरणमा नयाँ नेतृत्वको खोजी

    १४८६ पटक

    नेपाल विद्युत प्राधिकरण ३६औं वर्षमा प्रवेश गरेको छ । २०७२ सालमा ५० अर्ब घाटामा चलेको नेपाल विद्युत प्राधिकरण (नेविप्रा) २०७६ सालमा ११ अर्ब फाइदामा चलेको छ । यो उपलव्धि कसरी सम्भव भयो ? भनी हेर्दा कुशल नेतृत्वले नै फरक पारेको देखिन्छ ।
    २०७२ सालमा कुलमान घिसिङले कार्यकारी निर्देशकको पद सम्हालेपछि नेविप्रा लगातार फाइदामा चलेको छ भने यो वर्षलाई विद्युत खपत बृद्धि वर्षको रुपमा मनाइने निर्णय भएको छ । कार्यकारी निर्देशकमा कुलमान घिसिङको नियुक्त भएपछि वर्षौदेखि लगातार घाटामा चलेको र जीर्ण भइसकेको नेविप्रा घाटाबाट नाफामा चल्दैछ ।
    आर्थिक वर्ष २०७३/०७४ यतादेखि नेविप्रालाई लगातार सफलता मिलेको छ । यस आर्थिक वर्षको नाफा ११ अरब ६ करोड भएको र सञ्चित नाफा मात्रै ४ अर्ब ८७ करोड रहेकाले कर्यकारी निर्देशक कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरणको ३६ वर्षे लामो इतिहासकै सर्वश्रेष्ठ कार्यकारी निर्देशक भएका छन् । उनको ४ वर्षे कार्यकाल यही भाद्र महिनामा समाप्त हुँदैछ । उनको ठाउँमा को आउने हुन् भन्ने कौतुहल बढ्नुको साथै उनलाई नै थप ४ वर्षका लागि पुनः नियुक्त गर्नुपर्छ भन्ने जनआवाज र जनदबाब पनि तीव्र रुपमा बढ्दै गएको छ ।
    आजभन्दा लगभग ४ बर्ष पहिले नेपालमा १८ घन्टा लामो लोडसेडिङ हुने गरेको थियो भने नेपाल विद्युत प्राधिकरण पनि भ्रष्टाचारमा लिप्त कार्यकारी निर्देशकहरुबाट लगातार सिकार हुनुपरेकाले ऋणमा चुर्लुम्म डुबेको थियो र झण्डै विघटनको संघारमै पुगेको थियो । यस्तो संस्थाको नेतृत्व सम्हाल्न पुगेका कुलमान घिसिङको लागि चुनौती ठूलो थियो तैपनि उनले हिम्मत नहारी धैर्यताका साथ सदाचारिताको मार्गमा हिँडेर नै पहिले नेपाल राष्ट्रलाई नै लोडसेडिङ मुक्त तुल्याउन सफल भए भने लगातार घाटामा गइरहेको संस्थालाई नाफामा लगेरै छाडेका छन् । आर्थिक वर्ष २०७६/०७७ को अन्तिमसम्ममा पुग्दा उनले नेपाल विद्युत प्राधिकरणलाई ११ अर्ब ६ करोडको रिकर्ड फाइदा दिलाएका छन् भने सञ्चित नाफा मात्रै ४ अर्ब ८७ करोड बनाएर देखाएका छन् । नेपाल जस्तो मुलुक जहाँ नेबिप्राजस्ता सार्वजनिक संस्थानहरु लगातार घाटामा जाने गरेको हुँदा कुलमान घिसिङले यस्तो उपलव्धि कसरी निकाल्न सफल भए भन्ने विषयले सबैलाई कौतुहल बनाएको छ ।
    नेपालका सार्वजनिक संस्थाहरुमा प्रायः राजनीतिक हष्तक्षेप धेरै हुने गर्छ । सर्वप्रथम राजनीतिक नियुक्ति लिनकै लागि पनि ठूलै चलखेल गर्नुपर्ने हुन्छ भने नियुक्त भएपछि सत्तासीन राजनीतिक दलहरुको कार्यकर्ताहरुलाई जागिरे बनाउनका लागि थेगी नसक्ने राजनीतिक दबाब आउने गर्दछन् । सोबाहेक पनि परियोजनाहरुको खरिद कार्यहरुमा सरकारको हस्तक्षेप लगातार भई नै रहने गरेको देखिन्छ । यो सबै राजनीतिक र सदाचारिताको नैतिक दबाब झेलेर सार्वजनिक संस्थालाई यस्तो फाइदैफाइदा लगातार दिलाउने काम फलामको चिउरा चपाएर पचाउने काम भन्दा पनि कठिन काम हो ।
    कुलमान घिसिङ भन्दा अगाडि नियुक्त भएका कुनै पनि कार्यकारी निर्देशकहरुले कुलमान घिसिङले पाएको जस्तो सफलता कहिले पनि पाउन सकेन । कुलमान घिसिङले यस्तो असाधारण र इतिहासिक सफलता कसरी पाउन सफल भए भन्ने विषयको उत्तर अति सरल र सहज छ । उहाँलाई नियुक्त गर्दा पैसाको चलखेलमा नलागी उहाँको अनुभव र योग्यतालाई मात्र हेरियो । फलस्वरुप, कुलमान घिसिङ जस्ता योग्य र निष्ठावान व्यक्तिलाई राष्ट्रको लागि ठोस योगदान गरी देखाउने अवसर प्राप्त भयो । उहाँले यो उपलव्धि राष्ट्रका लागि सत्य र सदाचारिताकै मार्गमा हिंँडेरै दिलाएका छन् । उहाँभन्दा पहिले उक्त संस्थामा नियुक्त भएका सबै कार्यकारी निर्देशकहरुले लोभ र लालचमा लागेर उक्त संस्थालाई ठूलो आर्थिक हानी गर्नुको साथै नेपाल राष्ट्रलाई नै धोका धिएर गद्दारी गरेका थिए । यस्ता जुन थालमा खायो त्यसै थालमा प्वाल पार्नेहरु नेपालमा धेरै छन् । अनेक चलखेल गरी पैसा खुवाएर राजनीतिक नियुक्ति लिन्छन् अनि त्यसपछि संस्थालाई आफैले लुट्नुसम्म लुट्छन् र मातहतकालाई पनि लुट्नका लागि पूरै छुट दिन्छन् । कुलमान घिसिङले आफैले लुटेको कसैले पुष्टि गर्न सकेको छैन भने मातहतकालाई पनि अनुशासन भित्र राखी खुला लुट गर्ने छुट दिएका छैनन् ।
    नेपाललाई अन्धकारबाट उज्यालोमा लान सफल भएका कुलमान घिसिङलाई नेपाली जनताले महानायक नै मानेका छन् । उहाँको कीर्तिमानी र सफल ४ वर्षे कार्यकाल यही महिनामा नै सकिने भएको छ । त्यसैले उहाँलाई पुनः अर्काे ४ वर्षे कार्यकालको लागि नियुक्त गर्नुपर्ने नेपाली जनताको माग बढेर गएको छ । यो पदको लागि अहिले धेरै व्यक्तिहरु मैदानमा उत्रेका छन् तर सबै कुलमान घिसिङको व्यक्तित्वको अगाडि वामपुड्के सावित भएका छन् ।
    नेकपा माओवादीको नेतृत्वको सरकारले उहाँलाई पहिलो पटक नेविप्राको कार्यकारी निर्देशकमा नियुक्त गरेका थिए भने अहिले पनि पूर्व माओबादी नै विभागीय मन्त्री छन् । अर्काेतर्फ कुलमान घिसिङको कार्यसम्पादन, कार्यकुशलता र उपलब्धिलाई कसैले खोट लगाउन सक्ने अवस्था छैन । उमेर र स्वास्थ्यको हिसाबले पनि कुलमान घिसिङलाई चुनौती दिन सक्ने अन्य उम्मेदवारहरु कोही मैदानमा उभिएका छैनन् । त्यसैले उहाँ पुनः नियुक्त हुनसक्ने वातावरण नेपालमा बनेको देखिन्छ । उहाँलाई खास चुनौती भनेको नाफाखोर दलाल व्यापारीहरु र बिजुलीको वील भुक्तानी गर्न नचाहने सिउडो उद्योगपतिहरुबाट नै छन् ।

    “कुलमान घिसिङको कार्यसम्पादन, कार्यकुशलता र उपलब्धिलाई कसैले खोट लगाउन सक्ने अवस्था छैन । उमेर र स्वास्थ्यको हिसाबले पनि कुलमान घिसिङलाई चुनौती दिन सक्ने अन्य उम्मेदवारहरु कोही मैदानमा उभिएका छैनन् । त्यसैले उहाँ पुनः नियुक्त हुनसक्ने वातावरण नेपालमा बनेको देखिन्छ ।”


    नेपाली जनताको तर्फबाट भने उहाँलाई रेडकार्पेट सहितको स्वागत र शुभकामना छ । यस्ता उद्योगीहरु र दलाल व्यापारीहरुको पहुँच सरकार भित्रैसम्म घुसेको हुँदा उनीहरुले सरकारको माथिल्लो तहसम्मै आफ्नो लबिई गर्न थालेका छन् । आफू अनुकूल व्यक्तिलाई नेविप्राको कार्यकारी निर्देशक बनाएर फेरि लोडसेडिङ बढाएर नेपाल राष्ट्रलाई पुनः अन्धकारमै धकेली आफ्ना पुराना स्टकमा रहेको जेनेरेटर, व्याट्रीलगायत अन्य सोलर र बिद्युतीय उपकरणहरु बजारमा बेच्न चाहेका छन् । उक्त पदमा आफ्नो पक्षका व्यक्तिलाई नियुक्त गर्नको निमिक्त पैसाको चलखेल भएमा सोको व्यवस्था गर्न समेत नाफाखोर व्यापारीहरु र सिउडो उद्योगीहरुले पूर्ण तयारी गरेका छन् । यसका लागि स्वदेशी र विदेशी दलालहरु सरकार भित्रै घुसेर सक्रिय भएका छन् । फलस्वरुपः कुलमान घिसिङको कार्यकाल सकिन लाग्दा पनि उनको पक्ष वा विपक्षमा अहिलेसम्म कुनै सरकारी निर्णय आएको छैन ।

    “आफू अनुकूल व्यक्तिलाई नेविप्राको कार्यकारी निर्देशक बनाएर फेरि लोडसेडिङ बढाएर नेपाल राष्ट्रलाई पुनः अन्धकारमै धकेली आफ्ना पुराना स्टकमा रहेको जेनेरेटर, व्याट्रीलगायत अन्य सोलर र बिद्युतीय उपकरणहरु बजारमा बेच्न चाहेका छन् ।”


    कुलमान घिसिङले नेविप्राको कार्यकारी निर्देशकको पदमा बसेर ठोस कामै गरी देखाएका छन् । उहाँ उक्त पदमा बहाल हुँदा राष्ट्रको परिस्थिति अनुकूल थिएन भने नेविप्रा भित्रको परिस्थिति पनि अति नै नराम्रो थियो । राष्ट्रको परिस्थिति अहिलेसम्म पनि उस्तै रहेको छ भने कुलमान घिसिङले नेविप्रा भित्रको परिस्थितलाई सम्हाल्दै लगेर अहिले अनुकूल बनाई दिएका छन् ।
    राष्ट्रको परिस्थिति सम्हाल्ने काम नेताहरुको हो तर नेताहरुले सम्हाल्न नसक्दा लगातार बिग्रेर गएको छ । नेविप्राको कार्यकारी निर्देशकको पदमा बसेकाले अनेक सरकारी दबाब र झमेला पनि व्यहोर्नु पर्ने हुन्छ । कुलमान घिसिङले पनि लगातार त्यस्तो राजनीतिक दबाब र झ्याउझमेला व्यहोर्दै आएका छन् । उक्त अवधिमा सरकारहरु पनि परिवर्तन भएका छन् भने सरकारको नेतृत्व गर्ने दलहरु पनि बदलिएका छन् । नयाँ सरकार र नयाँ विभागीय मन्त्रीहरुसित उहाँले मिलेर काम गर्नु भएको छ भने सबै अनुचित राजनीतिक दबाबलाई निष्तेज तुल्याएका छन् ।
    दलहरुभित्र कति नेताहरु उनको विरोध गर्दैछन् भने कति प्रशंसा गर्नेहरु पनि छन् । ठूला भ्रष्टाचार भएको र गरेको आरोपहरु पनि उहाँ माथि राजनीतिका महारथीहरुले लगाएका छन् । तर, सबै त्यस्ता भ्रष्टाचारका आरोपहरु मिथ्या सावित भइसकेका छन् र कुलमान घिसिङ विरुद्ध कसैसित पनि भ्रष्टाचार गरेको ठोस सवुत नरहेको पुष्टि भएका छन् । नेपाल भ्रष्टाचार र अपराधमय मुलुक भएको हुँदा कसैले भ्रष्टाचार नगरेको दाबी गरेपनि त्यसमा धेरैले झट्ट बिश्वास गर्दैन । त्यसकारण कुलमान घिसिङले भ्रष्टाचार गरेको छैन भन्दा कसैले पनि सहजै विश्वास
    गर्दैन ।
    कुलमान घिसिङले भ्रष्टाचार नगरेको ठोस प्रमाण नेपाल विद्युत प्राधिकरणले उहाँको नेतृत्वमा गरेको प्रगति नै हो । उहाँले यदि भ्रष्टाचार गर्नतिर लाग्नु भएको भए ११ अर्ब ६ करोडको नाफा हुने नै थिएन । साथै ५ अर्बको सञ्चित नाफा प्राधिकरणलाई हुने सम्भव थिएन । उहाँले नेविप्राको नेतृत्व सम्हाल्ने बेलामा बिजुलीको चुहावट २५.७८ प्रतिशतमा थियो भने अहिले त्यो घटेर १५.२७ प्रतिशतमा झरेको छ । उहाँले यसरी ११ प्रतिशत बिजुलीको चुहावट रोक्ने सफलता प्राप्त गर्नु भएको छ । यस्ता कर्मयोगी कुलमान घिसिङले भ्रष्टाचार र अपराध गर्नतिर नलागेको सबै भन्दा दिव्य प्रमाण हो । उहाँ आफैं अनुशासित भएर नेपाल विद्युत प्राधिकरणको ठूलो भिडभाडको रुपमा रहेको कर्मचारीतन्त्रलाई पनि अनुशासित तुल्याएका छन् । यस्त तपस्वी कुलमान घिसिङलाई अर्काे कार्यकाल दिनुमा कुनै हर्ज नभएकाले नेकपा सरकारले तुरन्तै निर्णय गर्दा सुनमा सुगन्ध थपिने निश्चित छ ।

    प्रतिकृया दिनुहोस्