News Portal

  • पृथ्वी सुब्बा गुरुङ पुनः गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त

    आर्थीकसंसार संवाददाता२९ वैशाख, २०७८
    ८२८ पटक
    २९ वैशाख, २०७८

    काठमाडौं । पृथ्वी सुब्बा गुरुङ गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनः नियुक्त भएका छन् । नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशसभाका चार दलको समर्थन रहेको भन्दै मुख्यमन्त्रीमा दावी पेश गरे पनि उनको दावी नपुग्ने भन्दै प्रदेश प्रमुख सीता पौडेलले मुख्यमन्त्रीको रूपमा गुरूङलाई पुनः नियुक्त गरेकी हुन् । साथै गुरुङले शपथ पनि लिएका छन् । उनलाई प्रदेश प्रमुख सीता पौडेलले बुधबार साँझ पद तथा गोपनीयताको शपथ गराइन् । बुधबार राष्ट्रिय जनमोर्चाका सांसदहरु कृष्णबहादुर थापा र खिमबिक्रम शाहीले आफूहरु कुनै गठबन्धनमा नरहेको र तटस्थ रहेको भनी विज्ञप्ति जारी गरेपछि प्रदेश प्रमुखको कार्यालयले कांग्रेस सांसद कृष्णचन्द्र नेपाली पोखरेलको मुख्यमन्त्रीमा दाबी नपुग्ने देखिएपछि गुरुङलाई नियुक्त गरिएको हो ।
    संविधानको धारा १६८(३) अनुसार प्रदेशसभामा कुनै दलको एकल बहुमत नभएमा र दुई वा दुईभन्दा बढी दल मिलेर पनि बहुमत जुटाउन नसकेमा ठूलो दलको संसदीय दलको नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्न सक्ने व्यवस्था भएअनुरुप प्रदेश प्रमुख सीताकुमारी पौडेलले धारा १६८ को उपधारा ३ अनुसार प्रदेशसभाको सबभन्दा ठूलो पार्टीको संसदीय दलको नेताका हैसियतले उनलाई पुनः मुख्यमन्त्री नियुक्त गरेको हो ।
    विपक्षीदलहरूले अविश्वासको प्रस्ताव ल्याउने तयारी थालेपछि गुरूङले यसअघि मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए । उनले राजीनामा दिएपछि प्रदेश प्रमुख पौडेलले तीनदिनभित्र नयाँ सरकारको गठनका लागि बुधवार दिउँसो ४ बजेसम्म बहुमत पु¥याएर ल्याउन आह्वान गरेकी थिइन् ।
    प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आजै आफूलाई अन्य तीनदलको समर्थन रहेको भन्दै मुख्यमन्त्रीमा दाबी प्रस्तुत गरेको थियो । कांग्रेसलाई माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले समर्थन गरेको पत्र पनि प्रदेश प्रमुखकहाँ बुझाएका थिए । ६० सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ३१ मत चाहिन्छ । यी चार दलसँग ३१ मत थियो । तर जनमोर्चाका दुई सांसदले भने आफूहरूले कांग्रेस गठबन्धनलाई समर्थन नगर्ने घोषणा गरेका थिए ।
    राजमो संसदीय दलका नेता कृष्ण थापा र अर्का संसद् खिमबिक्रम शाहीले आफुहरु कुनै पनि गठबन्धनमा नरहेको भन्दै विज्ञप्ति निकालेपछि बहुमत दावी नपुगेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी दलले आफ्नो पक्षमा सभामुखसहित ३२ सांसद रहेको भन्दै प्रदेश प्रमुख समक्ष गएका थिए । गठबन्धनले कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई मुख्ममन्त्रीमा अघि सारेको थियो ।
    गुरुङले वैशाख २६ गते राजीनामा दिएपछि प्रदेश प्रमुख पौडेलले तीन दिनको समय दिएर प्रदेशसभाका दलहरुलाई बहुमतको सरकार गठनको दाबी पेश गर्न आह्वान गरेकी थिइन् । बुधबार नेपाली कांग्रेसका सांसद कृष्णचन्द्र नेपाली पोखरेलले आफूलाई चार दलका ३१ सांसदको समर्थन रहेको भनी दाबी पेश गरेका थिए । तर, त्यो दाबीअनुसार संसदको संख्या नपुगेपछि प्रदेश प्रमुख पौडेलले संविधानको धारा १६८ (३) अनुसार गुरुङलाई अल्पमतको सरकारको मुख्यमन्त्रीको रुपमा नियुक्त गरेकी हुन् । अब मुख्यमन्त्री गुरुङले एक महिना भित्रमा प्रदेशसभामा विश्वासको मत लिनुपर्नेछ ।

    प्रतिकृया दिनुहोस्