News Portal

  • नेपाल एसबिआई बैंकको ‘कर्पोरेट–पे’ सेवा सुरु

    आर्थीकसंसार संवाददाता३० चैत्र, २०७७
    ३७४ पटक
    ३० चैत्र, २०७७

    काठमाडौं । नेपाल एसबिआई बैंकले संस्थागत ग्राहकहरुका निम्ति बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने गरी ‘कर्पोरेट–पे’ प्रणालीको सुरुवात गरेको छ । जसको लागि बैंकले नेपाल क्लियरिङ्ग हाउस लिमिटेडसँग सम्झौता गरेको हो ।
    सो सम्झौतापत्रमा नेपाल एसबिआई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलम तथा नेपाल क्लियरिङ्ग हाउसका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् ।
    बैंकले आफ्ना व्यावसायिक ग्राहकहरुलाई प्रदान गर्ने उक्त डिजिटल प्ल्याट्फर्ममार्फत बैंकमा नगई आफैले फण्ड ट्रान्स्फर, तलब भुक्तानी, भेन्डर पेमेन्ट, सरकारी राजस्व भुक्तानीलगायतका अन्य विभिन्न व्यावसायिक भुक्तानीहरु खाताबाटै सजिलै गर्न सक्नेछन् । उक्त प्रणालीमार्फत कनेक्टआईपीएस अथवा एनसीएचएल–आईपीएसमा रियल–टाइम वा नन–रियलटाइममा भुक्तानी कारोबारहरु गर्न सकिने छन् ।
    ‘कर्पोरेट–पे’मा आबद्ध हुनका लागि ग्राहकले बैंकमा सम्पर्क गर्नुपर्ने हुन्छ र स्वीकृतिलगायतका आवश्यक प्रक्रिया पूरा गरी बैंकबाट सो सेवा प्राप्त गर्न सकिनेछ । यसपश्चात भने ग्राहकका प्रयोगकर्ताहरु आफैंले तोकिएको सीमा कारोबारभित्र कुनै पनि भुक्तानीहरु बैंकको प्रत्यक्ष संलग्नता बिना नै गर्न सक्दछन्, भने सो सीमाभन्दा बढीको कारोबार गर्न भने बैंकले थप चेक जाँचपश्चात प्रोसेस हुने व्यवस्था रहेको छ । यस प्रणालीमा पहुँच पाउन मल्टी लेयर अथेन्टिकेशनको सुरक्षित व्यवस्था गरिएको छ भने, कुनै पनि कारोबार प्रविष्ट गर्न र अप्रुभ गर्न ग्राहक आफैले निर्धारण गरेको आधिकारीक प्रयोगकर्ताहरुले मात्र गर्न पाउने गरी यस प्रणालीमा सुरक्षाको व्यवस्था मिलाइएको छ । साथै, ग्राहकले आवश्यकताअनुरुप यस प्रणालीमा एकभन्दा बढी बैंक खाताहरु पनि लिन्क गरी कारोबार गर्न सकिने प्रावधान रहेको छ ।
    नेपाल एसबिआई बैंकले सदैव आफ्ना ग्राहकहरुका निम्ति विभिन्न डिजिटल भुक्तानी प्लाट्फर्महरु प्रदान गर्दै आएको छ र यस ‘कर्पोरेट–पे’ प्रणालीको सुरुवातले बैंकका व्यावसायिक ग्राहकलाई पनि डिजिटल भुक्तानीको सेवा प्रदान गर्न थप टेवा पुग्ने विश्वास गरिएको छ । यस प्रणालीको प्रयोग र विस्तारपश्चात बैंक शाखा नपुगी विभिन्न भुक्तानी अनलाइन नै गर्न सकिने हुँदा व्यावसायिक ग्राहकलाई अझ बढी सहज हुने बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्