News Portal

  • मुलुक अस्थिरता र अनिश्चिततातर्फ धकेलिन सक्छ : वरिष्ठ नेता भण्डारी

    आर्थीकसंसार संवाददाता३ मंसिर, २०८३
    १३ पटक
    ३ मंसिर, २०८३

    काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता विद्यादेवी भण्डारीले मुलुकका पछिल्ला राजनीतिक घटनाक्रमले संविधान, लोकतान्त्रिक मूल्य र संसदीय प्रणालीको अभ्यासमाथि गम्भीर प्रश्न उठाएको बताएकी छन् ।

    उनले समयमै विद्यमान चुनौतीको समाधान खोज्न नसके मुलुक अस्थिरता र अनिश्चिततातर्फ धकेलिन सक्ने चेतावनी दिएकी हुन् ।

    भण्डारीले महँगी, बेरोजगारी, बढ्दो व्यापार घाटा र कमजोर शान्ति सुरक्षालाई मुलुकका प्रमुख चुनौतीका रूपमा औँल्याइन् । दैनन्दिन उपभोग्य सामग्रीको मूल्यवृद्धिले न्यून आय भएका तथा गरिब नागरिकको जीवनयापन कठिन बन्दै गएको उनको भनाइ थियो ।

    उनले पछिल्लो राजनीतिक घटनाक्रम र सरकारका कतिपय गतिविधिले लोकतान्त्रिक प्रणालीको अभ्यासबारे प्रश्न उठाएको टिप्पणी गरिन् । संविधान र लोकतान्त्रिक मूल्यअनुसार राज्य सञ्चालन हुनुपर्नेमा जोड दिँदै उनले राज्यका प्रमुख तीन अंगबीचको शक्ति सन्तुलन कमजोर हुनु गम्भीर विषय भएको बताइन् ।

    ‘समयमै यसको निराकरण नगर्ने हो भने मुलुक अस्थिरता र अनिश्चिततातर्फ धकेलिन सक्दछ,’ भण्डारीले भनिन् ।

    उनले वर्तमान परिस्थितिबाट मुलुकलाई निकास दिन नेकपा एमालेसहित देश र जनताप्रति जिम्मेवार राजनीतिक दल, देशभक्त तथा राष्ट्रवादी शक्ति र व्यक्तिहरूले आफ्नो भूमिका थप प्रभावकारी बनाउनुपर्ने बताइन् ।

    राजनीतिक दलहरूबीचका सानातिना मतभेदलाई थाती राखेर राष्ट्रिय हितका विषयमा साझा धारणा बनाउनुपर्ने उनको सुझाव थियो । मुलुकको राजनीतिलाई संविधान र कानुनले निर्दिष्ट गरेको दिशामा फर्काउन संवाद, सहकार्य र पहलकदमी आवश्यक रहेको उनले बताइन् ।

    भण्डारीले अहिलेको चुनौती कुनै एउटा राजनीतिक दलको मात्रै सरोकार नभएको सङ्केत गर्दै सबै जिम्मेवार राजनीतिक शक्ति एक ठाउँमा उभिनुपर्ने सन्देश दिएकी छन् । उनको सम्बोधनले वर्तमान सरकारका कामकारबाही, लोकतान्त्रिक अभ्यास र संवैधानिक शक्ति सन्तुलनबारे एमालेभित्रबाट उठिरहेको असन्तुष्टिलाई समेत सार्वजनिक गरेको छ ।

    https://aarthiksansar.com/story/579200/#flipbook-flipbookContainer/1/

    प्रतिकृया दिनुहोस्