News Portal

  • २८.९४ लाख डलरमा जीपीओएन खरिद गर्न चिनियाँ कम्पनीलाई ठेक्का

    आर्थीकसंसार संवाददाता२० असोज, २०८३
    ५२ पटक
    २० असोज, २०८३

    काठमाडौं । नेपाल टेलिकमले जीपीओएन ओएनटी तथा सहायक उपकरण खरिदका लागि चीनको सिचुआन तियानी कमहार्ट टेलिकम कम्पनी लिमिटेडलाई ठेक्का दिने भएको छ ।

    टेलिकमका अनुसार सबैभन्दा कम मूल्यमा मूल्याङ्कन भई योग्य ठहरिएको उक्त कम्पनीलाई ठेक्का दिन लागिएको हो । टेलिकमले गत जेठ ६ गते आह्वान गरेको अन्तर्राष्ट्रिय बोलपत्रअन्तर्गत कम्पनी छनोट गरेको हो ।

    छनोट भएको कम्पनीले कर तथा मूल्य अभिवृद्धि करबाहेक २८ लाख ९४ हजार ४१५.६६ अमेरिकी डलरमा जीपीओएन ओएनटी तथा सहायक उपकरण आपूर्ति गर्नेछ । यस्तै, सेवा तथा आन्तरिक ढुवानीबापत २२ लाख १५ हजार ३१८ रुपैयाँ खर्च हुने टेलिकमले जनाएको छ । उक्त रकममा मूल्य अभिवृद्धि करसमेत समावेश छ ।

    जीपीओएन अर्थात् गिगाबिट प्यासिभ अप्टिकल नेटवर्क फाइबरमा आधारित प्रविधि हो । यसले एउटै मुख्य फाइबरमार्फत उच्च गतिको इन्टरनेट, टेलिफोन तथा आईपीटीभीजस्ता सेवा धेरै ग्राहकसम्म पुर्याउन मद्दत गर्छ ।

    जीपीओएन प्रणालीमा अप्टिकल स्प्लिटरमार्फत एउटै फाइबरबाट धेरै ग्राहकलाई सेवा वितरण गर्न सकिन्छ । यस प्रणालीमा ओएलटी अर्थात् अप्टिकल लाइन टर्मिनल मुख्य उपकरणका रूपमा प्रयोग हुन्छ ।

    ओएलटी सेवा प्रदायकको कार्यालय वा डेटा केन्द्रमा राखिने केन्द्रीय उपकरण हो । यसले मुख्य नेटवर्कबाट प्राप्त डेटा सिग्नललाई अप्टिकल सिग्नलमा रूपान्तरण गरी ग्राहकतर्फ पठाउने तथा जीपीओएन सञ्जालको व्यवस्थापन र नियन्त्रण गर्ने काम गर्छ ।

    नेपाल टेलिकमले जीपीओएन ओएनटी तथा सहायक उपकरण आपूर्तिका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्दा सहभागी हुन ४० हजार रुपैयाँ, २७० अमेरिकी डलर वा २४० युरो दस्तुर तोकेको थियो ।

    त्यस्तै, बोलपत्र जमानतका लागि १ करोड ३६ लाख ७१ हजार रुपैयाँ, ९१ हजार ५९० अमेरिकी डलर वा ७९ हजार ५३० युरो बराबरको रकम तोकिएको थियो ।

    प्रतिकृया दिनुहोस्