News Portal

  • बाढीपीडितका लागि निर्जीवन बीमा व्यवसायी संघको ३ करोड ४७ लाख सहयोग

    आर्थीकसंसार संवाददाता१८ भदौ, २०८३
    १२ पटक
    १८ भदौ, २०८३

    काठमाडौं । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि निर्जीवन बीमा क्षेत्रले ३ करोड ७३ लाख रुपैयाँभन्दा बढी सहयोग गरेको छ ।

    नेपाल निर्जीवन बीमा व्यवसायी संघ र संघमा आबद्ध निर्जीवन बीमा कम्पनीहरूले ३ करोड ४७ लाख रुपैयाँ सहयोग गरेका हुन् । त्यसैगरी विभिन्न बीमा कम्पनीका कर्मचारीले समेत २६ लाख २३ हजार १८ रुपैयाँ सहयोग गरेका छन् ।

    संघका अध्यक्ष मनोहर दास मुलको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले बिहीबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सहयोग रकम हस्तान्तरण गरेको हो । रकम हस्तान्तरणका क्रममा सम्बन्धित बीमा कम्पनीका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतहरूको समेत उपस्थिति थियो ।

    संघका अनुसार योगदान गर्ने संस्थामा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, सगरमाथा लुम्बिनी इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, नेको इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, युनाइटेड अजोड इन्स्योरेन्स, सानिमा जीआईसी इन्स्योरेन्स र हिमालयन एभरेष्ट इन्स्योरेन्स रहेका छन् ।

    त्यस्तै, सगरमाथा लुम्बिनी इन्स्योरेन्स, हिमालयन एभरेष्ट इन्स्योरेन्स र युनाइटेड अजोड इन्स्योरेन्समा कार्यरत कर्मचारीबाट संकलित २६ लाख २३ हजार १८ रुपैयाँसमेत हस्तान्तरण गरिएको संघले जनाएको छ ।

    एनएलजी इन्स्योरेन्स र आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले भने यसअघि नै बाढीपीडितका लागि सहयोग रकम हस्तान्तरण गरिसकेका छन् । बाँकी बीमा कम्पनीहरू पनि सहयोग गर्ने प्रक्रियामा रहेको संघले जनाएको छ ।

    यसैबीच, संघको बैठकले भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीबाट भएको अकल्पनीय जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ । बैठकले दिवंगतहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक प्रस्ताव पारित गरेको थियो ।

    बाढीपछि बेपत्ता भएका व्यक्तिको सकुशल उद्धार हुने आशा व्यक्त गर्दै संघले उद्धार कार्यमा खटिएका नेपाल सरकार, सुरक्षा निकाय, नागरिक समाज तथा मित्रराष्ट्रका उद्धारकर्ताप्रति आभार व्यक्त गरेको छ ।

    संघले बाढी तथा पहिरोका कारण क्षतिग्रस्त आयोजना, पूर्वाधार, संरचना तथा जनधनको विवरण प्राप्त भएपछि बीमा दाबी भुक्तानीलाई उच्च प्राथमिकतामा राखेर प्रक्रिया अघि बढाउने प्रतिबद्धता पनि जनाएको छ ।

    प्रभावित नागरिकको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा बीमा कम्पनीहरूले योगदान गर्नुपर्ने विषयलाई गम्भीरतापूर्वक लिँदै सहयोग रकम हस्तान्तरण गरिएको संघले जनाएको छ ।

    सहयोग रकम बुझ्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देश संकटमा परेको समयमा बीमा कम्पनीहरूले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरेका छन् ।

    प्रतिकृया दिनुहोस्