१८ भदौ, २०८३काठमाडौं । हालै देशका विभिन्न स्थानमा आएको बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्घार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले हिमालयन लाइफ इन्स्योरेन्सले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।
हिमालयन लाइफका अध्यक्ष नारायण बजाजले उक्त ५१ लाख रुपैयाँको सहयोग रकम अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्। सहयोग रकम हस्तान्तरण कार्यक्रममा कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत दिनेश अमात्य तथा खेतान ग्रुपका अध्यक्ष राजेन्द्रकुमार खेतानको उपस्थिति थियो।
देशका विभिन्न क्षेत्रमा आएको बाढी तथा पहिरोबाट ठूलो जनधनको क्षति भएपछि प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि नेपाल सरकार, सुरक्षा निकाय, विभिन्न संघसंस्था तथा निजी क्षेत्रबाट भइरहेको प्रयासप्रति ऐक्यबद्धता जनाउँदै हिमालयन लाइफले उक्त सहयोग उपलब्ध गराएको हो।
कम्पनीले प्राकृतिक विपद तथा विभिन्न कठिन परिस्थितिमा सामाजिक उत्तरदायित्वअन्तर्गत निरन्तर सहयोग गर्दै आएको जनाएको छ। वर्तमान विपद्को अवस्थामा प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा गरिएको ५१ लाख रुपैयाँको सहयोगबाट बाढी तथा पहिरो प्रभावित नागरिकको तत्कालीन राहत तथा पुनर्स्थापनाका कार्यमा योगदान पुग्ने कम्पनीले विश्वास लिएको छ।
विपदको यस कठिन घडीमा प्रभावित परिवारको राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि सरकार, निजी क्षेत्र, संघसंस्था तथा आम नागरिकबीच सहकार्य र सहयोग आवश्यक रहेको कम्पनीको धारणा छ। यसका साथै राष्ट्रलाई आवश्यकता परेको अवस्थामा आगामी दिनमा समेत आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता हिमालयन लाइफले जनाएको छ।
हिमालयन लाइफले बाढी तथा पहिरोबाट प्रभावित सम्पूर्ण नागरिकप्रति हार्दिक सहानुभूति व्यक्त गर्दै ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जलि तथा शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ। साथै, घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै कम्पनीले उद्धार तथा राहत कार्यमा खटिएका सुरक्षाकर्मी, स्वयंसेवक तथा सम्बन्धित निकायप्रति आभार व्यक्त गरेको छ।
