१७ भदौ, २०८३काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले भोटेकोसी बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि ६२ लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।
कम्पनीको सञ्चालक समितिको बैठकले सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत ५१ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।
कम्पनीको भदौ १६ गते बसेको सञ्चालक समितिको बैठकले उक्त रकम कोषमा जम्मा गर्ने निर्णय गरेको जनाएको छ ।
त्यस्तै, कम्पनीमा कार्यरत कर्मचारीहरूले पनि आफ्नो एक दिनको तलब बराबरको ११ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सामूहिक रूपमा योगदान गर्ने निर्णय गरेका छन् ।
यससँगै कम्पनी र कर्मचारीबाट बाढीपीडितका लागि कुल ६२ लाख रुपैयाँ सहयोग हुने भएको छ ।
भदौ १० गते रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत नदी तटीय क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति भएको कम्पनीले जनाएको छ ।
कम्पनीले विपद्को यस कठिन समयमा प्रभावित परिवारलाई साथ र सहानुभूति स्वरूप सहयोग गरिएको जनाएको छ । कम्पनीले स्थापनाकालदेखि नै प्राकृतिक विपद्, महामारी तथा अन्य संकटका समयमा सहयोग गर्दै आएको दाबी गरेको छ ।
बाढी प्रभावित नागरिकको सुरक्षित उद्धार र घरबारविहीन परिवारको पुनःस्थापना यथाशीघ्र गर्नुपर्नेमा कम्पनीले जोड दिएको छ ।
कम्पनीले बाढीमा परी ज्यान गुमाउने नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ ।
