News Portal

  • बाढीपीडितको राहतमा शारदा ग्रुप : १ करोड १ लाख सहयोगदेखि गाउँ पुनर्निर्माणसम्म

    आर्थीकसंसार संवाददाता१५ भदौ, २०८३
    १८ पटक
    १५ भदौ, २०८३

    काठमाडौं । भोटेकोशी नदी क्षेत्रमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि शारदा ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ ।

    शारदा ग्रुपका अध्यक्ष शिवरतन शारडाले सोमबार अर्थमन्त्रीको कार्यालयमा पुगेर उक्त रकम हस्तान्तरण गरेका हुन् ।

    ग्रुपका विभिन्न कम्पनीमार्फत उक्त सहयोग गरिएको हो । जसअनुसार पशुपति खाद्य तेल उद्योगले ६१ लाख, पशुपति सिनप्याक इन्डस्ट्रिजले १५ लाख, प्रिमियर वायर्सले १५ लाख र प्रिमियर डिस्टिलरीले १० लाख रुपैयाँ योगदान गरेका छन् ।

    आर्थिक सहयोगसँगै ग्रुपले तत्काल राहतका लागि खाद्य तथा पेय पदार्थसमेत उपलब्ध गराएको छ । गुडलाईफ तथा रमपमका चाउचाउ, गुडलाइफ बिस्कुट र जुस गरी करिब ६० लाख रुपैयाँ बराबरका सामग्री नेपाल सरकारलाई उपलब्ध गराइएको ग्रुपले जनाएको छ । उक्त सामग्री बाढीपहिरो प्रभावित क्षेत्रमा वितरण गरिनेछ ।

    त्यस्तै, प्रभावित जिल्लामा उद्धार तथा राहतका क्रममा आवश्यक पर्ने अक्सिजन निःशुल्क उपलब्ध गराउने घोषणा पनि ग्रुपले गरेको छ ।

    शारदा ग्रुपद्वारा प्रवद्र्धित शिवम् होल्डिङ्स लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा थप २१ लाख रुपैयाँ सहयोग गरेको छ ।

    त्यसैगरी, शिवम् सिमेन्ट लिमिटेडले बाढीपहिरोबाट प्रभावित एउटा गाउँको पुनर्निर्माण तथा पुनःस्थापनाका लागि ११ हजार बोरा सिमेन्ट उपलब्ध गराउने घोषणा गरेको छ ।

    विपद्का कारण घाइते भएका व्यक्तिका लागि रगतको अभाव हुन नदिन शारदा ग्रुपले काठमाडौं र विराटनगरमा रक्तदान कार्यक्रम समेत आयोजना गरेको छ ।

    ग्रुपका अध्यक्ष शिवरतन शारडाले विपदमा आफ्ना परिवार तथा आफन्त गुमाएका नागरिकप्रति समवेदना व्यक्त गर्दै प्रभावित समुदायसँग उभिनु आफ्नो जिम्मेवारी भएको बताए।

    शारदा ग्रुपले विपद्मा प्रभावित व्यक्ति तथा परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै उद्धार तथा राहतमा खटिएका सरकारी निकाय, सुरक्षा निकाय, स्वास्थ्यकर्मी, स्वयंसेवक तथा सहयोगीहरूप्रति आभार व्यक्त गरेको छ ।

    ग्रुपले आवश्यकता अनुसार आगामी दिनमा पनि राहत, उद्धार तथा पुनर्निर्माणका काममा निरन्तर सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएको छ ।

     

    प्रतिकृया दिनुहोस्