News Portal

  • बाढीबाट मृत्यु हुनेको संख्या ७८१ पुग्यो, साढे दुई हजारभन्दा बढी सम्पर्कबिहीन

    आर्थीकसंसार संवाददाता१४ भदौ, २०८३
    ३१ पटक
    १४ भदौ, २०८३

    काठमाडौं । भदौ १० गते भोटेकोसी नदीमा आएको भीषण बाढीमा परी ज्यान गुमाउनेको संख्या ७८१ पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आइतबार साँझ ६ बजेसम्म विभिन्न आठ जिल्लाबाट ७८१ जनाको शव तथा मानव अंग फेला पारिएको हो ।

    बाढीबाट सबैभन्दा बढी क्षति चितवन र नवलपरासी पूर्वमा भएको छ, जहाँ क्रमशः २७२ र १९९ जनाको शव फेला परेको छ । यसैगरी नवलपरासी पश्चिममा १००, गोरखामा ५८, नुवाकोटमा ५२, धादिङमा ५०, तनहुँमा ३७ र रसुवामा १३ जनाको शव तथा मानव अंग भेटिएको प्राधिकरणले जनाएको छ ।

    बाढीपछि हालसम्म दुई हजार ५०२ जना मानिस सम्पर्कविहीन रहेका छन् । बेपत्ता हुनेहरूमा ठूलो संख्या विभिन्न क्षेत्रका कर्मचारी, सुरक्षाकर्मी र सर्वसाधारणको रहेको छ ।

    जसमा २५ नेपाल प्रहरी, ४५ नेपाली सेना, १३ सशस्त्र प्रहरी बल, १५ भन्सार कार्यालयका कर्मचारी र चार जना अध्यागमन कार्यालयका कर्मचारी छन् ।

    त्यसैगरी विभिन्न जलविद्युत् आयोजनामा कार्यरत ९३३ जना, ५९२ विदेशी नागरिक, विदेशीसँगै घुम्न गएका १२७ नेपाली, लाङटाङ राष्ट्रिय निकुञ्जका तीन र क्वारेन्टाइन कार्यालयका तीन कर्मचारी पनि बेपत्ता छन् ।

    जिल्लागत आधारमा रसुवाका ५६२, नुवाकोटका ११५ र मकवानपुरका ६५ जना सर्वसाधारण अझै सम्पर्कमा आएका छैनन् । विपत्तिको यस घडीमा प्रभावित क्षेत्रहरूबाट हालसम्म ९ हजार ४३५ जनाको सकुशल उद्धार गरिएको छ, जसमध्ये जलविद्युत् आयोजनाका जोखिमपूर्ण सुरुङबाट मात्रै २७९ जनालाई निकालिएको छ ।

    उद्धार कार्यका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत २५४ विदेशी र तीन हजार ६७ नेपाली गरी कुल तीन हजार ३२१ जनाको हवाई उद्धार गरिएको छ ।

    बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई तीव्र बनाउन कुल २० हजार ६१८ जना सुरक्षाकर्मी परिचालन गरिएको छ । जसअन्तर्गत आठ हजार ५२१ नेपाली सेना, सात हजार ८९४ नेपाल प्रहरी र चार हजार २०३ सशस्त्र प्रहरी बलका जवानहरू रातदिन खटिएका छन् ।

    प्रतिकृया दिनुहोस्