
१२ भदौ, २०८३काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बाढी तथा प्राकृतिक विपदबाट प्रभावित परिवारको उद्धार, राहत, पुनस्र्थापना तथा मानवीय सहयोगका लागि नेपाल सरकारको प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा २ करोड ५१ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।
उक्त सहयोग रकमबराबरको चेक कम्पनीका सञ्चालक कमलेशकुमार अग्रवाल, पूर्वअध्यक्ष गोविन्दलाल संघाई र प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले संयुक्त रुपमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका छन्।
यस सहयोगले विपद्बाट प्रभावित नागरिकको तत्काल उद्धार, राहत तथा पुनस्र्थापना कार्यमा थप सहयोग पुग्ने कम्पनीले विश्वास लिएको छ।
नेपाल लाइफले विपदको यस कठिन समयमा प्रभावित परिवारहरुप्रति गहिरो सहानुभूति व्यक्त गर्दै मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जलि तथा घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। साथै, सामाजिक उत्तरदायित्वप्रतिको आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिँदै विपद तथा संकटका समयमा राज्य र समुदायसँग सहकार्य गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ।
नेपाल लाइफले सम्पूर्ण नागरिकलाई प्रभावित समुदायको राहत तथा पुनस्र्थापनामा आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नसमेत आग्रह गरेको छ।