News Portal

  • प्रधानमन्त्री राहत कोषमा राष्ट्र बैंक कर्मचारी संघले दियो १ लाख ५१ हजार

    आर्थीकसंसार संवाददाता११ भदौ, २०८३
    १५ पटक
    ११ भदौ, २०८३

    काठमाडौं । नेपाल राष्ट्र बैंक कर्मचारी संघले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा सुरक्षित स्थानान्तरणका लागि प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार १५१ रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

    संघले बिहीबार जारी गरेको विज्ञप्तिमा रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन, तनहुँ र नवलपरासीका नदी तटीय क्षेत्रमा भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ ।

    संघले बाढीमा ज्यान गुमाउने नेपाली तथा विदेशी नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता नागरिकको शीघ्र खोजी, प्रभावित परिवारको उद्धार र राहतका लागि नेपाल सरकार तथा सम्बन्धित निकायसँग आग्रह गरेको छ । साथै विपद्को कठिन घडीमा प्रभावित समुदायप्रति ऐक्यबद्धता र सहानुभूति व्यक्त गरेको छ ।

    विज्ञप्तिमा बाढीबाट बैंक, बीमा, वित्तीय संस्थालगायत विभिन्न निकायका कार्यालय, कर्मचारी र उनीहरूका परिवार प्रभावित भएको उल्लेख गर्दै प्रभावित नागरिकका लागि खाद्यान्न, स्वास्थ्य सामग्री, लत्ताकपडा तथा अन्य अत्यावश्यक वस्तुको व्यवस्था गरी सुरक्षित स्थानमा स्थानान्तरण गर्न राज्यका निकायलाई प्रभावकारी रूपमा परिचालन गर्न माग गरिएको छ ।

    संघले प्रधानमन्त्रीको अध्यक्षतामा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले राहत र उद्धार कार्यलाई तीव्र बनाइरहेको सन्दर्भमा त्यस अभियानमा ऐक्यबद्धता जनाउँदै प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार १५१ रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको जनाएको छ ।

    नेपाल राष्ट्र बैंक कर्मचारी संघका अध्यक्ष रामहरि घिमिरे र महासचिव कृष्णप्रसाद खरालले विपद्मा ज्यान गुमाउनेहरूप्रति पुनः श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । साथै विपद्को यस कठिन घडीमा सम्पूर्ण नेपालीलाई आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गर्न पनि संघले अपिल गरेको छ ।

    प्रतिकृया दिनुहोस्