News Portal

  • रसुवाको बाढीमा क्षति पुगेकालाई बीमक संघले भन्यो– दाबी भुक्तानीमा सहजीकरण गर्छौं

    आर्थीकसंसार संवाददाता१० भदौ, २०८३
    ३७ पटक
    १० भदौ, २०८३

    काठमाडौं । नेपाल बीमक संघले रसुवा जिल्लाको सीमाक्षेत्रमा भोटेकोशी नदीमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित नागरिकलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

    संघले बाढीका कारण ज्यान गुमाएका व्यक्तिप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ । साथै, घाइते तथा प्रभावित सबै नागरिकको शीघ्र स्वास्थ्यलाभ र सुरक्षित पुनःस्थापनाको कामना गरेको छ ।

    बाढीका कारण नागरिक तथा व्यवसायीका घर, भवन, सवारीसाधन, उद्योग–व्यवसाय तथा अन्य सम्पत्तिमा पुगेको क्षतिप्रति संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

    कठिन परिस्थितिमा बीमा क्षेत्र प्रभावित बीमित तथा सर्वसाधारणको साथमा रहेको र बीमामार्फत सुरक्षित सम्पत्तिमा भएको क्षतिको जोखिम बहन गर्न प्रतिबद्ध रहेको संघले जनाएको छ ।

    प्राकृतिक विपद्बाट बीमा गरिएको सम्पत्ति, सवारीसाधन, व्यवसाय वा अन्य बीमित सम्पत्तिमा क्षति पुगेका सम्पूर्ण बीमितलाई सम्बन्धित बीमा कम्पनीमा यथाशीघ्र बीमा दाबी भुक्तानीको प्रक्रिया सहज बनाउन संघले अनुरोध गरेको छ ।

    साथै, प्रभावित बीमितलाई दाबी प्रक्रियामा आवश्यक सहजीकरण तथा सहयोग गर्न सम्बन्धित बीमा कम्पनीलाई नेपाल बीमक संघले आग्रह गरेको छ । कठिन घडीमा बीमितहरूको क्षतिको यथाशीघ्र मूल्यांकन तथा दाबी फर्छ्योट प्रक्रियालाई प्रभावकारी रूपमा अघि बढाउन संघले आवश्यक समन्वय गर्ने जनाएको छ ।

    नेपाल बीमक संघले यस दुःखद् घडीमा प्रभावित नागरिक तथा व्यवसायीहरूसँग आफूहरूको प्रतिबद्धता रहेको जनाएको छ ।

    प्रतिकृया दिनुहोस्