
१० भदौ, २०८३काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण एनआईसी एशिया बैंकका तीन वटा शाखामा क्षति पुगेको छ । बैंकका अनुसार रसुवास्थित स्याफ्रबेसी शाखा पूर्णरूपमा क्षतिग्रस्त भएको छ । शाखा रहेको घर नै बाढीले बगाएपछि कार्यालयका सबै सामानसमेत बगेको बैंकले जनाएको छ ।
बैंकका अनुसार स्याफ्रबेसी शाखामा कार्यरत तीन जना कर्मचारी भने सुरक्षित छन् । बाढी आउनुअघि खोलामा असामान्य हलचल देखिएपछि कर्मचारीहरू तत्काल डाँडातर्फ लागेका कारण सुरक्षित हुन सफल भएको बैंकले जनाएको छ ।
स्याफ्रबेसी शाखामा रहेको एटीएमसमेत क्षतिग्रस्त भएको छ । बाढीले सिंगो बजार नै बगाएकाले शाखा कार्यालय पूर्णरूपमा क्षतिग्रस्त भएको बैंकको भनाइ छ ।
त्यस्तै, बेत्रावतीस्थित बैंकको शाखा रहेको भवनसमेत बाढी तथा लेदोले पूर्णरूपमा डुबेको छ। भवनको टुप्पो मात्रै देखिने अवस्थामा रहेको र उक्त शाखामा समेत ठूलो क्षति पुगेको बैंकले जनाएको छ । त्यहाँ कार्यरत कर्मचारी भने सुरक्षित रहेको जानकारी बैंकले दिएको छ ।
बैंकको त्रिशूली शाखाका कर्मचारी पनि सुरक्षित छन् । बाढीको जोखिम बढेपछि उनीहरू अग्लो स्थानमा गएका थिए ।
बाढीले शाखाका भल्टसमेत बगाएको हो वा अझै त्यहीँ छन् भन्ने यकिन हुन नसकेको बैंकले जनाएको छ । प्रभावित क्षेत्रमा पुग्ने अवस्था नरहेकाले थप क्षतिको विवरण संकलन हुन बाँकी रहेको बैंकले जनाएको छ ।
बैंकका अनुसार शाखामा राखिएका कागजात तथा अन्य सामग्रीमा ठूलो क्षति पुगे पनि डिजिटल अभिलेख बैंकसँग सुरक्षित छन् ।
बिहान करिब ९ बजे बाढी आएको र कर्मचारीहरू समयमै सुरक्षित स्थानमा जान सफल भएकाले मानवीय क्षति हुनबाट जोगिएको बैंकले जनाएको छ । घटना रातिको समयमा भएको भए क्षति अझ ठूलो हुन सक्ने बैंकको भनाइ छ ।
ती शाखामा दैनिक करिब ८० देखि ९० वटा टेलर कारोबार हुने गरेको र कारोबारको आकार ठूलो नभए पनि दुर्गम क्षेत्रमा नगद व्यवस्थापन कठिन हुने भएकाले भल्टमा पर्याप्त रकम राख्ने गरिएको बैंकले जनाएको छ ।
बैंकका अनुसार एटीएममा समेत आवश्यकताअनुसार नगद राखिने गरेको छ । दुर्गम क्षेत्रमा नगद ओसारपसार गर्न कठिन हुने भएकाले भल्टमा औसतमा एकदेखि डेढ करोड रुपैयाँसम्म नगद राख्नु सामान्य रहेको बैंकले जनाएको छ । नगदको व्यवस्थापन बीमा तथा आवश्यकताअनुसार गरिँदै आएको बैंकको भनाइ छ । बाढीबाट बैंकका संरचना, सामग्री तथा नगदमा भएको वास्तविक क्षतिको विस्तृत विवरण भने आउन बाँकी छ ।