
५ भदौ, २०८३काठमाडौं । अर्घाखाँची सिमेन्ट लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को ९ महिनामा ५ अर्ब ५३ करोड २० लाख रुपैयाँ आम्दानी गरेको छ । सिमेन्टको बिक्री मूल्यमा भएको सुधार र भारत निर्यात बढेकाले अघिल्लो वर्षको सोही अवधिको तुलनामा १४ प्रतिशत बढी आम्दानी गरेको कम्पनीले जनाएको छ ।
कम्पनीले यसअघि अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा ५ अर्ब ८७ करोड २० लाख रुपैयाँ, आर्थिक वर्ष २०८०/८१ मा ६ अर्ब ६ करोड ६० लाख रुपैयाँ, आर्थिक वर्ष २०७९/८० मा ५ अर्ब ७७ करोड २० लाख रुपैयाँ र आर्थिक वर्ष २०७८/७९ मा ७ अर्ब ५८ करोड ९० लाख रुपैयाँ आम्दानी गरेको थियो ।
कम्पनीले आर्थिक वर्ष २०८०/८१ मा कुल आम्दानीको करिब १२ प्रतिशत निर्यातबाट आर्जन गरेको थियो । तर, इण्डियन स्ट्याण्डर्ड ब्युरोको प्रमाणपत्र नवीकरणमा भएको ढिलाइलगायत नियामकीय अवरोधका कारण आर्थिक वर्ष २०८१/८२ मा निर्यात आम्दानी घटेर कुल आम्दानीको करिब ५ प्रतिशतमा सीमित भएको थियो । यद्यपि, गत वर्षको ९ महिनामा कम्पनीको निर्यात आम्दानी पुनः कुल आम्दानीको करिब १२ प्रतिशत पुगेको जनाएको छ ।
अर्घाखाँची सिमेन्ट लिमिटेड सन् १९९८ जुलाईमा डाइनेस्टी इन्डस्ट्रिज नेपाल प्राइभेट लिमिटेडका रूपमा स्थापना भएको कम्पनी हो । सन् २०११ जुनमा कम्पनीको नाम परिवर्तन गरी अर्घाखाँची सिमेन्ट प्राइभेट लिमिटेड राखिएको थियो । पछि कम्पनी पब्लिक लिमिटेडमा रूपान्तरण भई सन् २०२१ जुलाईमा अर्घाखाँची सिमेन्ट लिमिटेड नाम कायम गरिएको हो ।
कम्पनीले क्लिंकर र सिमेन्ट उत्पादन तथा बिक्री गर्दै आएको छ । हाल कम्पनीको क्लिंकर उत्पादन क्षमता वार्षिक करिब १० लाख मेट्रिक टन तथा ग्राइन्डिङ युनिटको उत्पादन क्षमता वार्षिक करिब ८ लाख मेट्रिक टन रहेको छ ।
कम्पनीको सेयर तीनवटा व्यावसायिक समूह र एउटा भारतीय कम्पनीको स्वामित्वमा रहेको छ । कम्पनीको ३५ प्रतिशत सेयर सिद्धार्थ समूह, ३० प्रतिशत मुरारका समूह र १७.५ प्रतिशत केडिया समूहको स्वामित्वमा छ । बाँकी १७.५ प्रतिशत सेयर भारतीय कम्पनी उमा सिमेन्ट इन्टरनेसनलको रहेको छ । यी सेयरहरू तीनवटा व्यावसायिक समूहसँग आबद्ध १६ जना व्यक्तिको स्वामित्वमा समेत रहेका छन् ।
कम्पनीको कारखाना रुपन्देही जिल्लाको मैनहियामा रहेको छ । कम्पनीले हाल ‘अर्घाखाँची सिमेन्ट’ ब्रान्डअन्तर्गत साधारण पोर्टल्यान्ड सिमेन्ट र पोर्टल्यान्ड पोजोलाना सिमेन्ट उत्पादन तथा बिक्री गर्दै आएको छ ।
कम्पनीको खुद चालु पुँजी र सञ्चालन आम्दानीबीचको अनुपात गत वर्षको ९ महिनासम्म करिब ५७ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष यस्तो अनुपात करिब ५० प्रतिशत थियो । यसले कम्पनीको सञ्चालनका लागि चालु पुँजीमा निर्भरता अझै उच्च रहेको देखाउँछ ।
त्यस्तै, आर्थिक वर्ष २०८१/८२ को नाफाबाट कम्पनीले करिब १०३ प्रतिशत बराबर लाभांश वितरण गरेको थियो । तर, गत वर्षको ९ महिनासम्म घोषित लाभांशको करिब ४८ प्रतिशत भुक्तानी हुन बाँकी रहेको जनाएको छ । उच्च लाभांश वितरण तथा भुक्तानीमा भएको ढिलाइले कम्पनीको तरलता अवस्थामा थप दबाब सिर्जना गरेको छ ।
कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट २ अर्ब २७ करोड ९० लाख रुपैयाँ दीर्घकालीन र १ अर्ब ७९ करोड ७० लाख रुपैयाँ गरी कुल ४ अर्ब ७ करोड ६० लाख रुपैयाँ ऋण लिएको छ ।