News Portal

  • गोल्छालाई १ करोड धरौटीमा छाड्न आदेश

    आर्थीकसंसार संवाददाता२६ साउन, २०८३
    १९ पटक
    २६ साउन, २०८३

    काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा व्यवसायी शेखर गोल्छालाई १ करोड धरौटीमा छाड्न आदेश दिएको छ ।

    मंगलबार (आज) विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य र सदस्यद्वय हेमन्त रावल र विदुर कोइरालाको इजलासले गोल्छालाई १ करोड धरौटीमा छाड्न आदेश दिएको हो ।

    गोल्छा अहिले अदालतमै रही बैंक ग्यारेन्टी प्रक्रियामा लागिरहेको अदालतका सूचना अधिकारी पार्वती हितानले जानकारी दिइन् ।

    धरौटी बुझाएसँगै गोल्छा रिहा हुनेछन् । आजै उनले विशेष अदालतमा उपस्थित भई बयान दिएका थिए ।

    गोल्छा जोडिएको यस मुद्दामा दीपक भट्ट, सुलभ अग्रवालसहित ३४ जना र पाँच कम्पनीलाई प्रतिवादी बनाइएको छ ।

    सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ अन्तर्गत दायर यो मुद्दामा गोल्छाविरुद्ध ५२ करोड ५० लाख रुपैयाँबराबरको बिगो दाबी गरिएको छ ।

    त्यसैगरी, भट्टविरुद्ध २६ अर्ब ६३ करोड २७ लाख ७१ हजार ५९ रुपैयाँ ६८ पैसा बराबरको बिगो दाबी गरिएको छ।

    त्यस्तै, अग्रवालविरुद्ध २५ अर्ब ५९ करोड २० लाख ६ हजार १२४ रुपैयाँ ३१ पैसा बराबरको बिगो मागदाबी छ ।

    नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्षसमेत रहेका गोल्छालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गत बैशाखको १० गते पक्राउ गरेको थियो ।

    नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदनसमेतका आधारमा पक्राउ गरिएको सीआईबीले जनाएको थियो ।

    प्रतिकृया दिनुहोस्