News Portal

  • नेपाल जब फेयर–२०२१ राजधानीमा सुरु

    आर्थीकसंसार संवाददाता१ माघ, २०७७
    २०६२ पटक
    १ माघ, २०७७

    काठमाडौं । नेपाल जब फेयर २०२१ राजधानीमा सुरु भएको छ । रोजगारीको खोजीमा रहेका शिक्षित युवा र सक्षम जनशक्तिको खोजीमा रहेका रोजगारदाता कम्पनीबीच एउटै थलोमा अन्तक्र्रिया गर्ने लक्ष्यसहित नेपाल जब फेयर २०२१ आज (बिहीबारदेखि) राजधानीमा सुरु भएको हो ।
    जब फेयर २०२१ को पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले उद्घाटन गर्नुभयो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री नेपालले जब फेयर २०२१ जागिर चाहने र रोजगारी दिन तयार रोजगारदाताहरुका लागि उपयुक्त थलो बन्ने विश्वास व्यक्त गर्नुभयो । भित्रैबाट मुलुकको विकासको चाहना राख्ने हो भने विकास असम्भव नरहेको बताउँदै पूर्वप्रधानमन्त्री नेपालले बाहिर बसेर चाहना राख्दैमा केही नहुने बताउनुभयो । नेपालले सरकारप्रति लक्षित गर्दै भन्नुभयो, ‘ताप्केको बिड तातेर केही हुँदैन–माछा पाक्न ताप्के नै तात्नुपर्छ तर नेपालमा ताप्के तात्दै तात्दैन, कसरी तताउने भन्ने नै अहिलेको मुख्य समस्या हो ।’
    प्रधानमन्त्री के.पी शर्मा ओलीप्रति इंगित गर्दै पूर्व प्रधानमन्त्री नेपालले भन्नुभयो, ‘जसको हृदयमा विशालता हुँदैन, आत्मकेन्द्रित चिन्तन हावी हुन्छ, समस्याबारे अवगत भएर पनि विष्लेषण गरी समाधानतर्फ अग्रसरता देखाइँदैन समस्या यसैबाट गहिरिँदै जान्छ, अहिले भएको पनि यही हो ।’
    आफुले मुलुकमा सामाजिक न्यायसहितको समृद्धिको परिकल्पना गरेको भन्दै पूर्वप्रधानमन्त्री नेपालले भन्नुभयो ‘मिठो कुराले मात्रै युवामा आशा जाग्दैन–परिणामले जगाउनुपर्छ ।’ उद्घाटन समारोहमा रोजगार विज्ञ प्रा.डा. रमेशप्रसाद कोइरालाले स्वदेशमा रोजगार सिर्जना गर्नका वैदेशिक लगानी आवश्यक रहेको तर्क गर्नुभयो । त्यसका लागि द्विपक्षीय लगानी संरक्षण तथा प्रवद्र्धन सम्झौता (विप्पा) तथा दोहोरो कर मुक्ति सम्झौता (डिटिएए) जस्ता कानुनी प्रावधानमा सरकार स्पष्ट हुन जरुरी रहेको उहाँको भनाइ छ ।
    त्यस्तै, समारोहलाई सम्बोधन गर्दै अर्थ–राजनीतिक विष्लेषक हरि रोकाले अहिलेकै अवस्था रहिरहे मुलुक भयानक मन्दितर्फ जान सक्ने चेतावनी दिनुभयो । कमजोर सरकारी खर्च, त्यसबाट उत्पादनमा ह्रास, बस्तुको मागमा कमी र पुनः रोजगारीमा कटौतिपछि मुलुक मन्दीको दुष्चक्रमा फस्ने उहाँको चेतावनी छ । यथास्थितिकै संरचनाबाट परिवर्तन संवभ नरहेको उहाँको भनाइ छ । त्यस्तै, पूर्वाधार विकासका जानकार तारा पौडेलले कृषि, पर्यटन, ऊर्जा, उद्योग, बैदेशिक रोजगारी नेपालको विकासका लागि सम्भावना भएका क्षेत्र रहेको उल्लेख गर्नुभयो । यिनै क्षेत्रको विकासबाट नेपालमा पर्याप्त मात्रामा रोजगारी सिर्जना गर्न सकिने पनि उहाँले बताउनुभयो ।
    सो उद्घाटन कार्यक्रममा पूर्व डिआइजी केशब अधिकारीले मुलुकभित्र देखिएका अपराधका मुख्य कारण बेरोजगारी रहेकोले यसतर्फ बलैमा सोच्नुपर्ने औंल्याउनुभयो । एस्पायर नेपालको आयोजनामा मुलुकमै पहिलोपटक सुरु भएको नेपाल जब फेयर आगामी शनिबारसम्म राजधानीमा चल्नेछ । जब फेयरले व्यावसायिक र पारदर्शी मानव संशाधन अभ्यासको सूत्रपात गर्ने लक्ष्य लिएको छ । जब फेयरमार्फत प्रविधिका माध्यमले युवा उद्यमशीलताको विकास गर्ने तथा मानव संशाधन क्षेत्रलाई थप गतिशील र विश्वसनीय बनाउने विश्वास लिइएको छ । जब फेयरमा एक सयभन्दा बढी रोजगारदाताको सहभागीता रहेको छ । जब फेयर अवधिभर १५० भन्दा बढी अन्तर्वार्ता सेसन सञ्चालन हुनेछन् । जसबाट ३००० भन्दा बढीको रोजगारी सुनिश्चित हुने अपेक्षा गरिएको छ ।
    “नेपालमा रोजगारदाता र बेरोजगार युवाबीच ठूलो ग्याप छ, त्यो ग्यापलाई पूरा गर्न हामीले पहिलोपटक नेपाल जब फेयर २०२१ आयोजना गरेका हौंं,” नेपाल जब फेयरका भाइस प्रेसिडेन्ट प्रमोश अधिकारीले भन्नुभयो, “जब फेयरमार्फत वेरोजगार युवाले पनि रोजगारदाता कम्पनीसमक्ष खुलेर आफ्नो क्षमता प्रस्तुत गर्न सक्नुहुनेछ भने रोजगारदाता कम्पनीहरुले पनि आफूलाई अहिले आवश्यक र भविष्यमा चाहिने जनशक्तिको छनोट गर्नुहुनेछ ।” जब फेयरले मानव संशाधनका क्षेत्रमा स्वस्थ प्रतिस्पर्धा र रचनात्मक अभ्यासको सिर्जना गर्ने अपेक्षा लिइएको छ ।

    प्रतिकृया दिनुहोस्