
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल गठन गरेको छ । डा. रेवत बहादुर कार्कीको संयोजकत्वमा राष्ट्र बैंकले बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल गठन गरेको हो ।
बैंकिङ क्षेत्रको समग्र सुधार र सुदृढीकरणका लागि सुझाव पेश गर्न डा. कार्की संयोजक, भुवन कुमार दहाल सदस्य र राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक सदस्य सचिव रहने गरी तीन सदस्यीय बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल गठन भएको हो ।
कार्यदलको समयावधि एक महिनाको रहने राष्ट्र बैंकले जनाएको छ । बैंकिङ नीति नियमनलाई उदार तर विवेकशील (प्रुडेन्सियल), जोखिममा आधारित प्रभावकारी सुपरिवेक्षण र ग्राहकमैत्री बैंकिङ सेवाको विकास, आर्थिक गतिविधि पूर्ण चलायमान बनाउन बैंकिङ क्षेत्रले खेल्नुपर्ने भूमिका, ग्रामीण क्षेत्रमा कर्जा प्रवाहलाई प्रभावकारी बनाउन चाल्नुपर्ने कदमका विषयमा सुझाव पेस गर्नेछ ।
यस्तै, बैंक तथा वित्तीय संस्था गाभ्ने र प्राप्ति तथा उक्त कार्यपछिका समस्याहरूको पहिचान तथा समाधान, नेपाललाई ग्रेलिष्टबाट हटाउन बैंकिङ क्षेत्रले खेल्नुपर्ने भूमिका र पुँजीबजार विकासमा केन्द्रीय बैंकको समन्वयात्मक भूमिका सम्बन्धमा सुझाव पेस गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।