
काठमाडौं । जुनियर चेम्बर इन्टरनेशनल (जेसीआई) नेपालको आयोजनामा अन्तर्राष्ट्रिय नेतृत्व विकासका लागि दक्षिण एसियाली एकेडेमी (एसएएआईएल) नेपाल २०२५ सुरु हुने भएको छ ।
यही साउन १५ देखि १८ (जुलाई ३१–अगस्ट ३) सम्म काठमाडौंको ठमेलस्थित अलोफ्ट होटलमा कार्यक्रम आयोजना हुन लागेको हो ।
राष्ट्रहरूलाई जोड्दै – सक्षम नेतृत्व निर्माण गर्दै नारासहित सुरु हुने यस एकेडेमीले दक्षिण एसियाली मुलुकका युवाहरूलाई नेतृत्व विकास, अन्तरसांस्कृतिक समझदारी र क्षेत्रीय सहकार्यमा जोड दिनेछ।
एसएएआईएलको अवधारणा सन् २०२५ मा मङ्गोलियाको उलानबटारमा सम्पन्न जेसीआई एसिया प्यासिफिक कन्फेरेन्समा जन्मिएको हो ।
नेपाल, भारत, श्रीलंका र बंगलादेशबीच संयुक्त समझदारी पत्रमार्फत एकेडेमी स्थापना गर्ने निर्णय भएको थियो । नेपाल यस क्षेत्रीय पहलको पहिलो आयोजक राष्ट्र बन्ने गौरव प्राप्त गरेको छ ।
नेपाल जेसीजकी राष्ट्रिय अध्यक्ष रञ्जनी थापाको नेतृत्वमा आयोजना हुँदै गरेको यस एकेडेमीको निर्देशक जिम्मेवारी पूर्व राष्ट्रिय अध्यक्ष तथा जेसीआई सिनेटर प्रज्ञा राज राजभण्डारीले सम्हाल्दै छिन् ।
आयोजक संस्था जेसीआई नेपालले यसलाई दक्षिण एसियाली युवा नेतृत्व विकासमा ऐतिहासिक कोसेढुङ्गाको रूपमा लिएको छ ।
युवा नेतृत्व क्षमताको बहुआयामिक विकास, दक्षिण एसियाली राष्ट्रबीच आपसी मित्रता र सहयोगको प्रवर्द्धन, नेपाली संस्कृति, पर्यटन र पहिचानको अन्तर्राष्ट्रिय प्रवर्द्धन, उद्योग, लगानी र नवप्रवर्तनमा युवा सहभागिताको विस्तार र क्षेत्रीय साझेदारी र दीर्घकालीन सञ्जाल निर्माण यस कार्यक्रमका मुख्य विशेषता हुन् ।
कार्यक्रममा नीति निर्माण, उद्यमशीलता, नवप्रवर्तन र विश्व नेतृत्वमा केन्द्रित कार्यशालाहरू पनि हुने जनाइएको छ।
यसैगरी, काठमाडौं, लुम्बिनी, पाटन, भक्तपुर, स्वयम्भू, बौद्धलगायतका ऐतिहासिक तथा विश्व सम्पदा सूचीमा सूचीकृत स्थलहरूको अवलोकन हुने जनाइएको छ ।
साथै क्षेत्रीय उत्सव र फेलोसिपः सहभागी राष्ट्रबीच सञ्जाल विस्तार, सांस्कृतिक प्रस्तुतिहरू पनि हुने जनाइएको छ।
कार्यक्रममा जेसीआई एसिया प्यासिफिकका उपाध्यक्ष मार्क जोसेफ डेभिड, हिरोकी टोमोरीलगायत अन्तर्राष्ट्रिय अतिथिहरूको उपस्थिति रहने पनि जनाइएको छ ।
जेसीआई नेपालले सम्पूर्ण अन्तर्राष्ट्रिय सहभागीहरूलाई नेपालमा स्वागत गर्दै यो कार्यक्रममार्फत साझा भविष्य निर्माण, युवा क्षमता विकास र दीर्घकालीन सहकार्यको सन्देश फैलाउने लक्ष्य लिएको छ ।
नेपालमार्फत सुरु भएको यो अभियानले आगामी वर्षहरूमा अन्य दक्षिण एसियाली राष्ट्रहरूमा पनि निरन्तरता पाउनेछ र नेपालले यस मञ्चमार्फत विश्वसमक्ष युवा नेतृत्वको सशक्त पहिचान उजागर गर्ने अपेक्षा गरिएको छ ।