News Portal

  • ललितपुर उद्योग वाणिज्य संघको ४५ औं साधारणसभा सम्पन्न

    आर्थीकसंसार संवाददाता४ असोज, २०८१
    २३ पटक
    ४ असोज, २०८१

    काठमाडौं । ललितपुर उद्योग वाणिज्य संघको ४५ औं साधारणसभा शुक्रबार सम्पन्न भएकाे छ ।

    कार्यक्रम उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीकाे प्रमुख आतिथ्यतामा भएकाे थियाे ।

    कार्यक्रममा स्वागत मन्तव्य दिँदै संघका अध्यक्ष विश्व राज बज्राचार्यले रेमिटेन्समा निर्भर देखिएको देशलाई उद्यमशीलता र उत्पादनमुखी बनाउन स्टार्टअप जस्ता नीतिसँगे राज्यका सबै तहबाट नीजि क्षेत्रमैत्री नीतिगत व्यवस्था निर्माणमा सहकार्य गर्नुपर्नेमा जोड दिए ।

    स्वदेशी उत्पादनले विदेशी व्यवसायसँग प्रस्तिपर्धा गर्नसक्ने अवस्थातर्फ डोहाेर्‍याउन संघले तय गरेको इमान्दारी, संस्थागत नेतृत्व, सान्दर्भिकता र निरन्तरताका ४ खम्बे रणनीतिलाई कार्यान्वयन गर्नुपर्ने उनकाे भनाइ छ ।

    संघका अध्यक्ष बज्रचार्यले उद्योग व्यवसायमा विकास, समृद्ध ललितपुर नारासहित हस्तकला नगरीको पहिचान वृद्धि गर्न जिल्लाका उद्योग तथा उत्पादन क्षेत्रको पहिचान गर्नुपर्नेमा जाेड दिए ।

    संघको वार्षिक अर्थ स्मारिका २०८१ विमोचनपश्चात सभालाई सम्बोधन गर्दै मन्त्री भण्डारीले आर्थिक मन्दीबाट सम्बृद्धिको यात्रामा लाग्न नेपालीहरूमा छाएको निराशावादी भाष्यलाई चिर्न आवश्यक भएको बताए ।

    उनले प्रादेशिक तथा स्थानीय सरकारको सहभागिता भएको साधारणसभाले राज्यका सबै निकायसँग नीतिगत वा अन्य आवश्यक सहकार्यको स्पष्ट आधार तय गरी अगाडि बढ्न सकोस् भनी शुभकामना व्यक्त गरे ।

    प्रतिनिधिसभा सदस्य प्रेम महर्जनले नीतिगत विकाससँगै युवाहरुको नवप्रवर्तन सोच तथा उद्यमशीलतालाई लक्ष्योन्मुख कार्यान्वयनतर्फ सहकार्यमा निजी क्षेत्रको सक्रिय भूमिका रहनेमा जोड दिए ।

    विशिष्ट अतिथि नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले कोभिडपछि युक्रेन-रसियाको युद्ध र राज्यको नीतिगत व्यवस्थाको ग्यापले छाएको निराशालाई चिर्न महासंघले विगत डेढ वर्षमा धेरै सकारात्मक कार्य गरेको बताए ।

    विगतमा सम्पन्न लगानी सम्मेलनले ल्याएका करीब ८ वटा नीतिगत परिवर्तनलाई निजी क्षेत्रकै पहलमा नेपालका सबै राजनैतिक दलको समर्थन जुटाउन सफल भएका कारण नेपालमा निजीक्षेत्रमैत्री वैदेशिक लगानीको सम्भावना बढेको उनले बताए ।

    २०२३ चैत्र ४ गते स्थापित ललितपुर उद्योग वाणिज्य संघले ५७ औं वर्षमा प्रवेशको गर्विलो इतिहाससहित निजी क्षेत्रको छाता संगठनको रूपमा ललितपुर जिल्लाको आर्थिक क्रियाकलापमा अग्रणी भूमिका निर्वाह गरिरहेको छ ।

    प्रतिकृया दिनुहोस्