काठमाडौं । रेटिङ एजेन्सी इक्रा नेपालले विदेशी लगानीको वाणिज्य बैंक स्टाण्डर्ड चार्टर्ड बैंकको इस्युअर रेटिङ त्रिपल ए लाई निरन्तरता दिएको छ। वित्तीय सबलताको अवस्थालाई झल्काउने त्रिपल ए रेटिङ पाउने स्टाण्डर्ड चार्टर्ड नेपालको पहिलो र एक मात्र वाणिज्य बैंक हो ।
इक्रा नेपालका अनुसार यस्तो रेटिङ पाएको शेयर जारीकर्ता (इस्युअर) संस्थाले तोकिएको वित्तीय दायीत्व समयमै पुरा गर्ने सन्दर्भमा उच्च सुरक्षित हुन्छन् । साथै यस्तो जारीकर्ताको कर्जा जोखिम पनि न्यूनत्तम हुन्छ ।
स्ट्याण्डर्ड चार्टर्डको कर्जा पोर्टफोलियोमा शीर्ष २० वटा ऋणीले ४० प्रतिशत कर्जाको उपभोग गरेका छन् ।इक्रा नेपालका अनुसार कर्जा उपभोग गरेका ऋणीमध्ये धेरैजसो आफ्नो व्यापारको क्षेत्रमा स्थापित र ठूला कारोबारी भएको र कर्जा लगानी गरिएकोमध्ये ६८ प्रतिशत लगानी योग्य श्रेणीमा रहेका छन् । निक्षेप संकलनतर्फ पनि शीर्ष २० निक्षेपकर्ताले गत पौष मसान्तसम्मको विवरण अनुसार कूल निक्षेपको २६ प्रतिशत हिस्सा ओगटेको छ।