काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । बैंकले चितवनको भरतपुर महानगरपालिका वडा नं. ८, शरदपुरको गौरीगंज स्वास्थ्य चौकीमा उक्त शिविर आयोजना गरेको हो ।
शिविरमा २०० भन्दा बढि महिलाहरुले आफ्नो स्वास्थ्य चेकजाँच गरेका थिए । यही पौष १७ गते मंगलबारदेखि ग्लोबल आइएमई बैंक १७ औँ वर्ष पुरा गर्दैछ । उक्त अभियानअन्तर्गत बैंकले नेपाल परिवार नियोजन संघसँगको सहकार्यमा सातवटै प्रदेशहरुमा एकदिने निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन गरिरहेको छ ।
ग्लोबल आइएमई बैंकले स्थापनाकाल देखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न समयमा यस्ता स्वास्थ्य शिविरहरुको आयोजना गरी ग्रामीण भेगका महिला तथा आम नागरिकहरुलाई प्रत्यक्षरुपमा लाभान्वित गर्दै आएको छ ।