News Portal

  • ‘गाउँ आएको बाटो’ को प्रदर्शन मिति तोकियो

    आर्थीकसंसार संवाददाता२३ मंसिर, २०८०
    १२१ पटक
    २३ मंसिर, २०८०

    काठमाडौं । विश्वप्रसिद्ध टोरन्टो अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको ४८औँ संस्करणमा छनोट भएर पहिलो प्रदर्शनी (प्रिमियर) गरिएको नेपाली चलचित्र ‘गाउँ आएको बाटो’ को नेपालमा प्रदर्शन गर्ने समय तय गरिएको छ । उक्त चलचित्र नेपालमा २०८१ जेठ १८ गते चलचित्र भवनमा प्रदर्शन गरिने निर्माण पक्षले घोषणा गरेको छ ।

    दक्षिण कोरियाको बुसान अन्तर्राष्ट्रिय चलचित्र महोत्सव, भारतको मुम्बई चलचित्र महोत्सवलगायतमा समेत प्रदर्शनी गरिएको ‘गाउँ आएको बाटो’को नवीन सुब्बाले निर्देशन गरेका हुन् । राई जातिको सामाजिक पृष्ठभूमिमा तयार पारिएको उक्त चलचित्रमा गाउँमा सडक आएपछि बाबु–छोराको सम्बन्धमा आउने उतारचढावलाई नियाल्ने प्रयास गरिएको निर्देशक सुब्बाले जानकारी दिए ।

    निर्देशक सुब्बाले निर्देशनको सुरुआत गरेको पहिलो चलचित्र ‘खाङ्ग्री’ नै पहिलोपटक अन्तर्राष्ट्रिय बजारमा पुगेको थियो । यसअघि उनीद्वारा निर्देशित ‘नुमाफुङ’ फुकुओका, गोटेवर्ग, सन्फ्रान्सिस्कोजलगायत चलचित्र अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा छनोट भएका थिए ।

    ‘गाउँ आएको बाटो’ मा दयाहाङ राई, पशुपति राई, प्रसन राई, केशव राई, सुमित्रा राई, राज थापा, प्रेम सुब्बालगायत कलाकारले अभिनय गरेका छन् । महेश राई र निर्देशक सुब्बाले लेखेको उक्त चलचित्रको छायांकन जोस हेरम, सम्पादन क्वान पुन लिउङले तथा हेडी लिले संगीत भरेका छन् ।

    नेपाली चलचित्रमा भारतीय कलाकार

    नेपाली चलचित्र ‘देव वाणी’मा अभिनय गर्न भारतीय अभिनेता ह्यारी जोश नेपाल आएका छन् । नकारात्मक भूमिकामा रुचाइएका अभिनेता जोशले ‘वान्टेड’, ‘धूम २’, ‘वेलकम’ जस्ता सफल तथा चर्चित बलिउड चलचित्रमा अभिनय गरेका छन् । ६ दिनको छायांकन तालिका तय गरेर अभिनेता जोश नेपाल आएको उक्त चलचित्रका निर्देशक बाबु साहेब बलामीले जानकारी दिए ।

    बालाजुस्थित नेपाल चलचित्र विकास कम्पनीमा अभिनेता जोशले ६ दिन छायांकन गरेसँगै चलचित्रको सम्पादनको कार्य सुरु हुने निर्देशक बलामीले बताए ।

    ‘उहाँ नेपाली चलचित्रमा अभिनय गर्ने कुराले हर्षित हुनुहुन्छ । आफ्नो भूमिका बुझेर अभिनय गर्नुका साथै समय मिल्दा काठमाडौंमा घुमघाम गरिरहनुभएको छ,’ निर्देशक बलामीले भने, ‘चलचित्र हिन्दी भाषामा समेत प्रदर्शन गरिने हुँदा उहाँलाई अभिनयका लागि अनुरोध गरेका हौँ । सामाजिक कथामा आधारित भए पनि प्रेमभाव र द्वन्द्वको मिश्रण दर्शकले चलचित्रमा पाउनुहुनेछ ।’

    सिमरा र वीरगञ्ज क्षेत्रमा छायांकन गरिएको चलचित्र‘देव वाणी’मा कुन्दन भारद्वाज, अनुजा लेप्चा, सुनिल थापा, ध्रुव कोइराला, घनश्याम गिरी, रवीन्द्र झा, नन्दु श्रीवास्तव, मौसम पौडेल, प्रदीप ढकाल, लक्ष्मीनाथ तिमल्सिनालगायत कलाकारले अभिनय गरेका छन् ।

    अनुजा इन्टरटेनमेन्ट र मौसम फिल्मस् प्रोडक्सन हाउसले निर्माणमा सहकार्य गरेको चलचित्र ‘देव वाणी’मा निराजन मेहता मन्जिलले कथा लेखन, श्री श्रेष्ठले द्वन्द्व निर्देशन, हरिबहादुर घलेले छायांकन, रामजी लामिछाने र तेञ्जु योञ्जनले नृत्य निर्देशन, मनोहर सुनामले संगीत सिर्जना तथा बन्दे प्रसादले सम्पादन गरेका छन् ।

    प्रतिकृया दिनुहोस्