News Portal

  • एनआईसी एशिया बैंकले आफ्नै हेड अफिसको भवन निर्माण गर्दै

    आर्थीकसंसार संवाददाता७ मंसिर, २०८०
    १०५ पटक
    ७ मंसिर, २०८०

    काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नै केन्द्रिय कार्यालय भवन निर्माण गर्ने भएको छ । हाल भाडामा केन्द्रिय कार्यालय राखेर सञ्चालन हुँदै आएकोमा बैंकले कमलादीमा आफ्नै भवन निर्माण गर्ने भएको हो ।

    बैंकले मुख्य कार्यालय भवन निर्माणका लागि प्रक्रिया अघि बढाएको छ । बैंकले काठमाडौं महानगरपालिका २८ कमलादीस्थित १ हजार १७.४८ वर्गमिटर भएको जग्गामा आफ्नो भवन निर्माण गर्ने जनाएको छ ।

    बैंकले उक्त भवन निर्माण कार्यको लागि वातावरणीय अध्ययन प्रतिवेदन तयारी गर्न बोलपत्र आह्वान गरेको छ । बैंकको उक्त भवन निर्माण गर्न परियोजना व्यवस्थापन परामर्शदाता (पीएमसी)को जिम्मेवारी इन्भाइरोन्मेन्टल सर्भिसेज नेपाल प्रा.लि.ले पाएको छ ।

    ‘बैंकको भवन निर्माण तथा सञ्चालनका लागि प्रस्ताव गरिएको छ, आयोजनाको कुल जग्गा १०१७.४८ वर्ग मिटर र सो जग्गा प्रस्तावक स्वयंको नाममा दर्ता छ, प्रस्तावित भवनको बिल्ट अप एरिया ४०४९.८ वर्ग मिटर र उचाई २९.६ मिटर रहनेछ, प्रस्तावित भवन जम्मा ७ तल्लाको हुनेछ र पार्किङ्ग व्यवस्थाका लागि २ वटा बेस्मेन्ट निर्माण गरिनेछ,’ बैंकको सूचनामा उल्लेखछ ।

    भवन निर्माण गर्दा सो क्षेत्रको जैविक तथा पारिस्थितिकिय प्रणाली, प्राकृतिक तथा भौतिक प्रणाली, सामाजिक तथा आर्थिक प्रणाली र सांस्कृतिक प्रणालीहरुबिच कस्तो प्रभाव पर्छ भनी यकिन गर्न वातावरणीय अध्ययन प्रतिवेदन तयार गर्न लागेको बैंकले बताएको छ । त्यसैल काठमाडौं महानगरपालिका २८ नं वडा कार्यालय, विद्यालय, स्वास्थ्य संस्था तथा सरोकारवाला व्यक्ति वा संस्थाले ७ दिनभित्र सुझाव उपलब्ध गराउन बैंकले अनुरोध गरेको छ ।

    प्रतिकृया दिनुहोस्