News Portal

  • केदार कार्की कोशीको मुख्यमन्त्री नियुक्त

    आर्थीकसंसार संवाददाता२७ असोज, २०८०
    २९९ पटक
    २७ असोज, २०८०

    विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस शेखर पक्षका केदार कार्की नियुक्त भएका छन् ।

    कोशी प्रदेश मुख्यमन्त्री पदमा नियुक्तिका लागि पेश गरिएका प्रस्तावको हस्ताक्षर सनाखतमा बहुमत पुर्याएपछि उनी मुख्यमन्त्री बनेका हुन् । प्रदेश प्रमुखको कार्यालय विराटनगरमा प्रदेश प्रमुख परशुराम खापुङको उपस्थितिमा आज सांसदहरुको स-शरीर सनाखत भएको थियो ।

    नेपालको संविधानको धारा १६८ को उपधारा (५)बमोजिम नेपाली कांग्रेसका कोशी प्रदेशसभा सदस्य केदार कार्कीले मुख्यमन्त्री पदका लागि ४७ प्रदेशसभा सदस्यसहितको हस्ताक्षरसहितको पत्र प्रदेश प्रमुखको कार्यालयमा बुझाएका थिए ।

    सोही हक दाबी गर्दै नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले पनि ४७ जनाकै हस्ताक्षरसहित माग दाबी गर्दा प्रमाणीकरणका लागि प्रदेश प्रमुख खापुङले स–शरीर प्रमाण खुल्ने प्रमाणपत्रसहित कार्यालयमा उपस्थित भई सनाखत गर्न गए राति सूचना जारी गरेका थिए ।

    कांग्रेसका कार्कीको पक्षमा नेकपा (एमाले) का ३९ तथा कांग्रेसका ८ प्रदेशसभा सदस्यको हस्ताक्षर सनाखत गरेका छन् । सोही बहुमतका आधारमा कार्की मुख्यमन्त्री नियुक्त भएका हुन् । कांग्रेसका कार्कीसहित इन्दिरा थापा, शम्शेर राई, लीलाकुमारी राई, गोविन्द गिरी, सुनिताकुमारी गुरुङ, रामकुमार खत्री र मानबहादुर लिम्बूले प्रदेश प्रमुखको कार्यालयमा सनाखत गरेका छन् । तर आङ्बो पक्ष भने हस्ताक्षर सनाखतका लागि उपस्थित भएन ।

    प्रतिकृया दिनुहोस्