काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनीले प्रमुख कार्यकारी अधिकृतमा उपासना पौडेललाई नियुक्त गरेको छ । बीमा क्षेत्रकै पहिलो र एक मात्रै महिला सिइओको उपाधी पाएकी पौडेलले ७ अर्बको दोस्रो पुनर्बीमा कम्पनीको नेतृत्व सम्हाल्ने अवसर प्राप्त गरेकी छिन् ।
करिअरको छोटो समयमै नेपालको बीमा क्षेत्रमा स्थापित पौडेलको युनाइटेड इन्स्योरेन्स कम्पनीको सिइओ पछिको यो अर्को ठुलो सफलता हो । उनि एक तह तल झरेर २०७९ मंसिरमा हिमालयन रि इन्स्योरेन्स कम्पनीमा नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएकी थिइन्।
साविक युनाइटेड इन्स्योरेन्सबाट उपसना पौडेल कार्तिक अन्तिम साता बाहिरिएकी थिइन् । पौडेलले युनाइटेडमा डेढ वर्ष सिइओ र डेढ वर्ष नायब प्रमुख कार्यकारी अधिकृत सहित तीन वर्ष काम गरिन् । भारतको दिल्ली युनिभर्सिटिबाट एमबिए गरेकी पौडेलले भारतकै आईसीआईसीआई लोम्बार्ड इन्स्योरेन्स र भारतीय एक्सामा एक दशक भन्दा लामो समय काम गरेकी थिइन् । भारतबाट उनि सिधै तत्कालिन सानिमा जनरलको सहायक महाप्रवन्धक पदमा रहेर काम गरेकी थिइन् ।
भारतमै पढेर भारतमै एक दशक भन्दा लामो समय काम गरेकै कारण पनि उपसाना पूर्व सिइओ रामामुर्थीको रोजाइमा परेकी थिइन् । हिमालयनको सञ्चालक तथा प्रमुख लगानीकर्ता मारवाडी समुदायका धेरै छन् । उनिहरुको सम्बन्ध भारत सँग धेरै छ । त्यसैले गर्दा उनिहरुले भारतीय बजारमा राम्रो सम्बन्ध भएका जनशक्तिको खोजि गरिरहेका थिए ।