News Portal

  • कृषि विकास बैंकको सीईओका लागि ५ जनाको नाम सर्टलिष्ट, को-को सिफारिस भए ?

    आर्थीकसंसार संवाददाता४ फागुन, २०७९
    ३७२ पटक
    ४ फागुन, २०७९

    काठमाडौं । कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) लागि ५ जनाको नाम सर्टलिष्ट गरिएको छ । बैंकको सीईओ छनोट समितिको बिहीबार बसेको बैठकले सीईओका लागि ५ जनाको नाम सिफारिस गरेको हो ।
    बैंकको सीईओ पदका लागि सिभिल बैंकका पूर्व सीईओ गोविन्द गुरुङ, कृषि विकास बैंकका निमित्त सीईओ प्रताप सुवेदी, कृषि विकास बैंकका कायमुकायम नायव महाप्रबन्धक, यज्ञप्रकाश न्यौपाने, नेपाल एसबिआई बैंकका डीसीईओ विष्णुदेव यादव र राष्ट्रिय सहकारी बैंकका बैंकका बद्रि कुमार गुरागाँईको नाम सर्ट लिष्ट गरिएको बैंक स्रोतले बताएको छ ।
    योग्यता र अनुभव प्राप्त व्यक्तिलाई आवेदनका आधारमा ५ जनाको नाम छनोट गरेर सिफासिर गरेको हो । उम्मेदवारको शैक्षिक योग्यता तथा कार्य अनुभव र पेश भएको व्यावसायिक कार्ययोजनाको मूल्याङकनको आधारमा ५ जनालाई सर्ट लिष्टिङ्ग गरी अन्तरवार्ताका लागि छनौट गरिएको बैंकले जनाएको छ ।
    बैंकका अनुसार छनौट भएका उम्मेदवारहरुमध्ये शैक्षिक योग्यता तथा कार्य अनुभव, व्यावसायिक कार्य योजनाको मूल्याङ्कन प्रस्तुतीकरण तथा अन्तवार्ताको आधारमा उच्चतम अंक प्राप्त गर्ने ३ जनालाई सीईओका लागि सिफारिस गरिनेछ ।
    बैंकको सीईओ बन्न २२ जनाले आवेदन दिएका थिए । बैंकका सीईओका लागि सिडिएस एण्ड क्लियरिङ्गका सीईओ पूर्ण प्रसाद आचार्य र राष्ट्रिय वाणिज्य बैंकका पूर्व नायव प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ)कविराज अधिकारीले आवेदन दिएका थिए ।
    यस्तै, बैंकको सीईओका लागि भानु कँडेल, ताराखर अधिकारी, प्रमेश कायस्थ, नरेश कुमार रोका, विश्व प्रकाश सुवेदी, कुमार केसी, रामराज उपाध्याय, अशोक कुमार पौडेल, रमेशराज जोशी,सुन्दरराम बोहोरा, तिलराज पाण्डेय, भवानी शंकर चापागाईँ, अरुण कुमार ढुंगाना र प्रमोद वावु तिवारीले बैंकको सीईओ पदका लागि दाबी गर्दै आवेदन दिएका थिए ।
    बैंकका पूर्व सीईओ अनिल उपाध्यायको कार्यकाल गत पुस १० गते सकिएपछि बैंकले पुस २५ गते विज्ञापन आह्वान गरेको थियो । उक्त पदका लागि माघ १५ गतेसम्म आवेदन खुला थियो ।

     

     

    प्रतिकृया दिनुहोस्