काठमाडौं । जीवनमा निरन्तरको असफलता, चुनौती, संघर्षमा हरेस नखाई जो अघि बढ्छ त्यो सुगन्धी बन्छ । हो, सुगन्धी पासवान एउटा यस्तो पात्र जसले निरन्तर असफलतामा पनि कत्ति पनि बिचलित नभई संघर्ष गरिरहिन् । २०३८ सालमा चितवनको कठारमा जन्मेकी सुगन्धीको संघर्षको यात्रा १३ वर्षमा बिवाह भए पश्चात शुरु भयो । उहाँका श्रीमान राजवंशी पासवान आमा बुवा गुमाएका टुहुरा हुनुहुन्थ्यो । उहाँको सम्पतिको नाममा छातापिपरामा २ धुर जमिनमा बनेको एक झुपडी थियो । आम्दानीको बाटो केही थिएन । बिवाह भएको एक वर्षमा उहाँहरुको पहिलो सन्तान छोरीको जन्म भयो । किशोरी आमा, सुत्केरी अवस्था, घरमा खानेकुराको अभाव, श्रीमान् महिनौसम्म घर नआउने, घरमा ओढ्ने ओच्छ्याउने दुवै चटाई (परालबाट बनेको एक प्रकारको गुन्द्री) बाहेक अरु केहि थिएन । यस्तै चुनौतीबीच गुजारा चलाउन कहिले माइतिको सहयोग कहिले छिमेकीको घरमा जुठो भाँडा माझ्ने, लुगा धुने, घाँस काट्ने गरेर छिमेकीले दिएको चामल, दालले छाक टार्ने गर्नुहुन्थ्यो सुगन्धि पासवान ।
श्रीमानलाई नाच्न गाउन असाध्यै मन पर्ने । त्यसैले बिवाहमा नचनीको रुपमा काम गर्नुहुन्थ्यो । उहाँका श्रीमान महिलाको श्रृङ्गार र भेषभुषा लगाएर नाच्ने र त्यस बापत वर्षमा ७ देखि ८ हजार रुपैँयासम्म कमाउनुहुन्थ्यो । गरिब परिवार त्यसमा पनि छिमेकीले दलित भनेर हेप्थे । सुगन्धी एक्लै आफ्नो र सन्तानको छाक टार्न संघर्ष गर्नुहुन्थ्यो । पासवानले गाउँ नजिकैको सिर्सिया खोलामा दिनभरी माछा मार्ने र त्यसलाई छातापिपरा गाउँमा घरघर लगेर चामलसँग माछा साटेर दैनिकी चलाउनुहुन्थ्यो । कतिपयले दलितले मारेको माछा भनेर चामल साट्न समेत हिचकिचाउँथे ।
पासवानले यि सबै कुराबाट छुटकारा पाउन व्यवसाय गर्ने सोच बनाउनुभयो तर पुँजी थिएन ।
आफैले मारेको माछा पकाएर बेच्ने व्यवसाय सुरु गर्नुभएकी पासवानलाई जातीय छुवाछुतका कारण यो व्यवसाय लामो समय चल्न दिइएन ।
जति असहज अवस्थामा पनि जीवनलाई अगाडि बढाईरहनुभएकी पासवानले घरमा रहेको पुरानो साईकलमा घरघरमा तरकारी बेच्न थाल्नुभयो ।
किनेर ल्याएको तरकारीहरु नबिकेर कुहिन थालेपछि घाटा भयो र उहाँले बाध्य भएर यो व्यवसाय पनि छोड्नु प¥यो ।
यसैबीच २०६६ सालमा गाउँमा पहिलो पटक कुनै एक लघुवित्त वित्तिय संस्थाले समूह गठन ग¥यो । पासवानले आफु पनि उक्त समूहको सदस्य बन्ने इच्छा भएको कुरा व्यक्त गर्नुभयो । तर सुकुम्बासी हो, दलित हो पैसा खाएर भाग्छे भनेर सदस्य बन्न दिएनन् ।
छमेकीलाई जमानी राखेर सदस्य बन्नुभएकी पासवानले समूहबाट पाँचहजार रुपैँया ऋण लिनुभयो । सो ऋण मध्येबाट १५ सयमा १ जोडी बंगुरको पाठापाठी किन्नुभयो ।
पाँचहजार मध्ये अरु पैसाले एउटा घुम्ती किन्नुभयो र ३ हजार रुपैँयामा चिया पसलकोलागि आवश्यक सामाग्री किनेर सोही घुम्तीमा चिया पसल सुरु भयो ।
त्यहाँ पनि दलितको चिया पसल भन्ने हल्ला चलाइयो । मानिसहरु चिया, खाजा खान आउन छोडे । फेरी उही नियति दोहोरीयो । उहाँको चिया पसल पनि बन्द भयो ।
उहाँसंग अब त्यही १ जोडी बंगुर बाँकी थियो । त्यसैको स्याहार सुसारमा लाग्नुभयो ।
उहाँले आफूले पालेको बंगुर जीतपुरमा लाग्ने हाटमा आफैँले काटेर बेच्न थाल्नुभयो । आम्दानी राम्रै भयो ।
२०७० फागुन ५ बाट छातापिपरामा साना किसान सहकारीको अनुशरण कार्यक्रमको लागि तदर्थ समिति गठन गर्दा उहाँ सदस्य हुनुभयो । सो कार्यक्रमको अगुवाको रुपमा टोलटोलमा महिला भेला गर्दै समूह, अन्तर समूह गठन गर्ने कार्यमा सहभागी हुन थाल्नुभयो । पासवानले ती समूह उप–समूहहरुमा हुने क्षमता अभिवृद्धि तालिम, प्रशिक्षणमा सहभागी हुँदै आफ्नो नेतृत्व सीप विकास गर्दै जानुभयो ।
उहाँले कार्यक्रम लागु हुनासाथ साना किसानबाट विना धितो १५ हजार ऋण लिएर बंगुर पालनलाई विस्तार गर्नुभयो ।
२०७६ मा पुरानो ऋण चुक्ता गरि तीनलाख ऋण लिएर ३० वटा बंगुरको पाठापाठी किनेर खोर व्यवस्थापन गर्नुभयो ।
अहिले उहाँको व्यवसाय विस्तार भएको छ । २ कठ्ठा जमिनमा २० कोठाको खोर रहेको छ भने ८० वटा बंगुर फार्ममा रहेका छन् । पासवानले साना किसानसँग आवद्ध भए पश्चात सयौँ तालिम प्राप्त गर्नुभयो । सहकारी व्यवस्थापन, वित्तीय साक्षरता, बंगुरपालन, पशुधन सुरक्षण, प्राविधिक सहायता, लैंगिक हिंसा बिरुद्धको तालिम, महिला सशक्तिकरण, नेतृत्व विकास लगाएतका तालिम, प्रशिक्षणहरुमा सहभागी हुनुभयो । हेटौँडा, काठमाडौँ, लुम्बिनी, बर्दिबास, गोरखा, चितवन, पाल्पा, स्याङ्जा, बुटवल लगाएतका शहरहरुमा भएका तालिम, गोष्ठी तथा सेमिनारहरुमा सहभागी भएर आफ्नो नेतृत्व क्षमता अभिवृद्धि गर्नुभएको छ ।
उहाँ अहिले साना किसान सहकारी संस्था छातापिपराकी उपाध्यक्ष हुनुहुन्छ । जीतपुरसिमरा उपमहानगरपालिका अन्तरगत छातापिपरा सामुदायिक प्रहरीको समिति सदस्य पासवान बंगुरपालक कृषकहरुको समूह संगम कृषक समूहको अध्यक्ष हुनुहुन्छ ।
पासवानलाई राधा पौडेल फाउन्डेसनले साहसी नारी पुरस्कारबाट पुरस्कृत गरेको छ । सहकारी क्षेत्रबाट, लैंगिक हिंसा बिरुद्ध क्रियाशिल संघसंस्था, रोटरी लगाएतका विभिन्न संघसंस्थाबाट उहाँले सम्मान तथा पुरस्कार प्राप्त गर्नुभएको छ ।
यी सबै अवसर, मेहेनत र साना किसान सहकारी संस्थामा प्रवेश गरे पश्चातको ८ वर्षको अवधिमा भएको हो । हाल उहाँको मासिक आम्दानी ४५ हजार देखि ५० हजार रुपैयाँसम्म हुने गरेको छ । व्यवसायको कुलपुँजी ३० लाख पुगेको छ । यही व्यवसायको आम्दानीबाट तीन छोराछोरीको पढाईको खर्च जुटेको छ ।
पहिले र अहिलेको उहाँको अवस्था
उहाँ भन्नुहुन्छ साना किसान मेरो साहस, प्रेरणा र अभिभावक नबनिदिएको भए आज मेरो आर्थिक, सामाजिक शसक्तिकरणका साथै मेरो पहिचान सुगन्धी पासवान नै गुम्थ्यो । साना किसानले लगाएको यो गुण म जीवनभर कहिल्यै भूल्नेछैन । म यस साना किसान अभियान मार्फत् थुप्रै सुगन्धीहरुको जीवनमा सुगन्ध ल्याउने प्रयत्नमा मेरो बाँकी जीवनलाई समर्पित गर्नेछु ।