News Portal

  • राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन काउन्टर बुटवल उपमहानगरपालिकामा

    आर्थीकसंसार संवाददाता१८ साउन, २०७९
    २१८ पटक
    १८ साउन, २०७९

    काठमाडौं । लुम्बिनी प्रदेश रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका कार्यालय परिसरमा राष्ट्रिय वाणिज्य बैक लिमिटेडको ५२औं एक्सटेन्सन काउन्टर तथा राजश्व सङ्कलन केन्द्रको एक समारोहका बीच शुभारम्भ गरिएको छ । एक्सटेन्सन काउन्टरको समुद्घाटन बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले गर्नुभएको थियो ।


    कार्यक्रममा उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले बुटवल बजार व्यवसायीक क्षेत्र भएकाले काउण्टरबाट सरकारी कारोबारलगायत व्यवसायीक कारोबार समेतको माग रहेको बताउनुभयो । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकको वडा कार्यलयहरुबाट समेत राजश्व सङ्कलन गर्ने योजना रहेको बताउनुभयो ।
    शाखा कार्यालय बुटवलमार्फत रहने सो एक्सटेन्सन काउन्टरबाट विभिन्न सरकारी कार्यालयबाट लिइने राजश्व, धरौटी, सेवा शुल्क, दस्तुर, कर्मचारी संचय कोष, नागरिक लगानी कोषलगायतको रकम जम्मा गर्न सकिने छ ।
    बैंकका लुम्बिनी प्रादेशिक कार्यालयका प्रादेशिक प्रबन्धक दिनेश गौतमको सभापतित्वमा भएको कार्यक्रममा उपकार्यकारी अधिकृत सरस्वती अधिकारीले स्वागत मन्तब्य तथा उपप्रबन्धक जितेन्द्रसिंह थापाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । सो अवसरमा विभिन्न वडाका वडा अध्यक्ष तथा सदस्यहरु, प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी, उद्योग वाणिज्य महासंघ बुटवलका अध्यक्ष उज्वल कसजु, शाखा कार्यालय बुटवलका शाखा प्रबन्धक सुरेन्द्र यादब, कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो । बैंकको हाल ७ प्रदेश, ७७ जिल्लामा २५८ वटा शाखा कार्यालय, ५२ वटा एक्सटेन्सन काउन्टर, २६८ वटा एटिएम र १०२ वटा शाखा रहित बैंकिङ रहेको छ ।

    प्रतिकृया दिनुहोस्