News Portal

  • ज्योति विकास बैंक लिमिटेडको १४ औं वार्षिकोत्सव

    आर्थीकसंसार संवाददाता९ साउन, २०७९
    ७३९ पटक
    ९ साउन, २०७९

    काठमाडौं । ज्योति विकास बैंकले श्रावण ९ गते सोमबारको दिन स्थापनाको १४औं वार्षिकोत्सव मनाएको छ । बैंकले सञ्चालक समितिका सदस्य, भूतपूर्व सञ्चालकहरु, कर्मचारी र ग्राहकहरुको उपस्थितिमा कमलपोखरीस्थित केन्द्रीय कार्यालयमा वार्षिकोत्सव मनाएको हो । साथै, कार्यक्रममा बैंकका संस्थापक अध्यक्ष तथा शेयरधनी ध्रुवकुमार उप्रेती र संस्थापक शेयरधनी तथा भूतपूर्व अध्यक्ष ध्रुवराज भट्टराईको पनि उपस्थिति रहेको थियो ।
    १४औं वार्षिकोत्सवको अवसरमा बैंकले ज्योति भिडियो बैंकिङ पनि सार्वजनिक गरेको छ । यस माध्यमअन्तर्गत पहिलो चरणमा अनलाइनबाटै खाता खोली, बैंक नपुगी तुरुन्तै खाता सञ्चालन गर्न सकिने सेवासहितको भिडियो केवाईसी सार्वजनिक गरेको हो । यसपश्चात देश–विदेशमा रहेका नेपालीहरुले पनि अनलाइनबाट खाता खोली सञ्चालनमा ल्याउन सक्नेछन् ।
    वार्षिकोत्सवको अवसरमा बैंकले रक्तदान कार्यक्रमसमेत आयोजना गरेको छ, जसमा कर्मचारी, ग्राहक र अन्य सर्वसाधारणले रक्तदान गरेका छन् । सोही अवसरमा बैंकमा १० वर्ष निरन्तर कार्यरत रही योगदान दिएका कर्मचारीहरुलाई पनि सम्मानित गरिएको छ । सञ्चालक समितिका अध्यक्ष हरिचन्द्र खड्का तथा प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्टले संयुक्त रुपमा कर्मचारीहरुलाई पदक तथा कदरपत्र प्रदान गर्नुभएको थियो ।
    समारोहमा ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ स्थापना गरेको “हाम्रो विकास प्रवद्र्धन कोष” मार्फत राधा पौडेल फाउन्डेसनसँग “मर्यादित महिनावारी” सचेतनामा आधारित परियोजनाहरुमा सहकार्यका लागि सम्झौता गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट तथा राधा पौडेल फाउन्डेसनकी संस्थापक राधा पौडेलले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो । बैंकले प्रारम्भिक चरणमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत रु. पाँच लाख सहयोगको प्रतिबद्धता गरेको छ ।


    कार्यक्रममा अध्यक्ष हरि चन्द्र खड्काले मन्तव्य प्रस्तुत गर्दै बैंकको १४ वर्षको यात्रालाई सफल र फराकिलो बनाउन योगदान दिने सम्पूर्णप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दै अबको यात्रामा पनि सोहि अनुरुपको सहयोग प्रदान गर्न आह्वान गर्नुभयो । अध्यक्ष खड्काले आगामी दिनहरुमा पनि अझ गुणस्तरीय बैंकिङ्ग सेवा दिँदै थप उत्कृष्ट सुविधाहरु प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
    कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्टले बैंकले आफ्नो मूल उद्देश्य, दूरदृष्टि, ध्येय र मूल्य मान्यताहरुको अधीनमा रही बैंकलाई सुदृढ, सशक्त र जीवन्त संस्थामा विकसित गर्दै समस्त नागरिकको जीवनमा समृद्धि ल्याउन निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । यसका साथै वार्षिकोत्सवको अवसरमा बैंकले काठमाडौं महानगरपालिका–१५, डल्लुस्थित बैंकको ११९औं शाखाको औपचारिक उद्घाटन पनि गरेको छ । डल्लु शाखाको समुद्घाटन बैंकका पूर्व अध्यक्ष तथा बैंकका संस्थापक शेयरधनी ध्रुवकुमार उप्रेती र बैंकका अध्यक्ष हरिचन्द्र खड्काले संयुक्त रुपमा गर्नुभएको थियो । बैंकिङ्ग पहुँच थप विस्तार गर्दै आफ्ना सेवाहरू सहज रूपमा ग्राहकसमक्ष पुर्याउने उद्देश्यले बैंकले नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।
    डल्लु शाखा उद्घाटनपश्चात उपत्यका र उपत्यका बाहिर गरि ज्योति विकास बैंकको ११९ वटा शाखा कार्यालय, ३ वटा विस्तारित काउन्टर तथा ६५ वटा एटीएम पुगेको छ ।

    प्रतिकृया दिनुहोस्