News Portal

  • सेयर बजारको लागि मौद्रिक नीति : साना लगानीकर्तालाई बढी फाइदा

    आर्थीकसंसार संवाददाता६ साउन, २०७८
    ६६० पटक
    ६ साउन, २०७८

    काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिले सेयर बजारलाई राहात मिलेको छ । बैंकका गर्भनर महाप्रसाद अधिकारीले सार्वजनिक गरेका १३३ बुँदे मौद्रिक नीतिमध्ये विशेष गरी ३ वटा बुँदाले सेयर बजारलाई केही राहात मिल्ने जानकारहरू बताउँछन् ।


    बजारका जानकार अनुसार बुँदा नम्बर ९८, ९९ र १०० ले सेयर बजारको लागि सकारात्मक रहेका छन् ।
    जसमध्ये बुँदा नम्बर ९८ मा भनिएको छ ‘बैंक तथा वित्तीय संस्था मर्जर तथा प्राप्तिको समयमा धितोपत्र कारोबार रोक्नेसम्बन्धी यस बैंकबाट जारी भएको विद्यमान व्यवस्था खारेज गरी धितोपत्र बोर्डको नियमनबमोजिम हुने व्यवस्था मिलाइनेछ ।’
    राष्ट्र बैंकले गरेको यो व्यवस्थाले मर्जर तथा एक्विजिशनको नाममा वर्षौंदेखि सम्बन्धित लगानीकर्ताको सम्पत्ति बन्धक हुने समस्या हट्ने सम्भावना बढी छ । यद्पि, सो व्यवस्था नेपाल धितोपत्र बोर्डमार्फत गरिने भनिएको छ ।
    त्यसैगरी, एउटै व्यक्ति, परिवार तथा कम्पनीले सेयर कर्जा एउटा बैंकबाट बढीमा ४ करोड र सबै बैंकबाट बढीमा १२ करोड लिन पाउने व्यवस्थालाई नयाँ मौद्रिक नीतिले ४ करोडको सीमालाई हटाएर अब एउटा बैंक तथा वित्तीय संस्थाबाट १२ करोडसम्मको ऋण लिन पाउने व्यवस्था गरेको हो । उक्त व्यवस्था बुँदा नम्बर ९९ उल्लेख छ ।
    ‘सेयर धितो राखी प्रवाह हुने मार्जिन कर्जाको एकल ग्राहक सीमा एउटा वा सबै इजाजतपत्र प्राप्त वित्तीय संस्थाहरुबाट लिनसक्ने गरी अधिकतम सीमा रु.१२ करोड कायम गरिनेछ । सेयर ब्रोकरमार्फत नियमित र व्यवस्थित हुँदै गएपछि यस्तो मार्जिन कर्जासम्बन्धी व्यवस्था हटाइने ’ बुँदा नम्बर ९९ले भनेको छ ।
    ‘सेयर धितोमा प्रवाह हुने कर्जाको जोखिम भार २५ लाख रुपैयाँसम्मको कर्जाको हकमा १०० प्रतिशत र सोभन्दा माथिको कर्जाको हकमा जोखिम भार १५० प्रतिशत राख्नुपर्ने व्यवस्था यथावत राखिएको छ ।’ यसअघि उक्त सीमा १५० प्रतिशत थियो ।
    सेयर लगानीकर्ता दवाव समूहका अध्यक्ष हरि ढकाल यो वर्षको मौद्रिक नीतिले साना लगानीकर्ता तथा ऋणीलाई सहज हुने बताउँछन् ।
    ‘गत मौद्रिक नीतिले कसेको सेयर बजारलाई यो वर्ष त्यस्तो भएन, कर्जाको जोखिम भार, धितो कर्जामा हटेको ४ करोडको सीमाले विशेष त साना लगानीकर्ता तथा साना ऋणीलाई सहज बनाएको छ र मर्जरमा गएका कम्पनीको कारोबार रोक्का हुने प्रावधान खारेज गरेको छ, अब पुसको समीक्षा कस्तो आउँछ, अहिलेलाई बजारलाई थोरै भएपनि राहात हुने खालको छ,’ उनले भने ।
    नेपाल इन्भेष्टर्स फोरममा पूर्वअध्यक्ष छोटेलाल रौनियारले यो वर्षको मौद्रिक नीति लगानीकर्ताले खोजेको जस्तो नभएपनि समग्रमा ठिकै रहेको बताएका छन् ।
    ‘मौद्रिक नीतिले बजारलाई राहात भयो,’ उनले भने ‘सेयरधितो कर्जामा ४ करोडको सीमा हटाइयो, साना लगानीकर्ताले लिने कर्जाको जोखिम भार २५ लाखसम्मको १०० प्रतिशतले गरेर त्योभन्दा बढी १५० प्रतिशत राखिएको छ र मर्जर तथा एक्विजिसनमा कारोबार नरोकिने नीति पनि राम्रो हो ।’
    नयाँ मौद्रिक नीतिको बारेमा टीप्पणी गर्दै ब्रोकर्स एशोसिएशनका पूर्वअध्यक्ष नरेन्द्र सिजापति सामाजिक सञ्जालमा लेख्छन्, ‘आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिले नीतिगत रुपमा सेयर बजारको साँढेको घाँटी र खुट्टामा बाधिएको दाम्लोमध्ये खुट्टाको दाम्लो खोलिएको छ, धन्यवाद !’

    प्रतिकृया दिनुहोस्