News Portal

  • भदौ १७ गते देखि अन्तर्राष्ट्रिय उडान खुल्ने

    आर्थिकसंसार संवाददातासंवाददाता११ भदौ, २०७७
    २१२३ पटक
    ११ भदौ, २०७७

    काठमाडौं । सरकारले भदौ १७ देखि अन्तर्राष्ट्रिय उडान खुलाउने भएको छ । सरकारले नियमित अन्तर्राष्ट्रिय उडान तालिका सार्वजनिक गरेको बताएको छ । यही भदौ १७ गतेदेखि स्वदेशी तथा विदेशी वायुसेवा कम्पनीका लागि उडान तालिका सार्वजनिक गरेको हो । सरकारले १ महिनामा जम्मा ८७ वटा उडान गर्ने भएको छ । उक्त उडानमध्ये ६० वटा नियमित उडान तालिका हो भने २७ वटा चाटर्ड उडान भएको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता तथा उपमहानिर्देशक राजकुमार क्षेत्रीले जानकारी दिए ।
    ‘हामीले एक महिनाको उडान तालिका तय गरेका हौं,’ उनले भने ‘१२ वटा वायुसेवा कम्पनीले उक्त उडान भर्ने छन् ।’ उडान भर्ने कम्पनीमध्ये १० वटा विदेशी कम्पनी हुन भने नेपाल वायु सेवा निगम र हिमालय एयरलाइन्स हुन् ।’
    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले एक महिना अर्थात असोज १४ सम्मको लागि तालिका तय गरेको हो । पर्यटन मन्त्रालयले तयार पारेको तालिकामा नेपालमा उडान गर्ने सबैजसो वायुसेवा कम्पनीलाई पालैपालो उडान अनुमति दिइएको छ ।
    नेपाली वायुसेवालाई भदौ १७ बाट नियमिन उडान गर्ने गरी स्वीकृति दिइएको छ । उक्त दिन सरकारी ध्वजावहाक जहाज जापानको नारितामा पुगेर पहिलो नियमित उडान सुरु गर्नेछ । त्यसपछिका तीनवटा उडान हिमालय एयरलाइन्सले गरेपछि लगातार ४ वटा उडान नेवानिले गर्ने गरी उडान तालिका बनेको छ । एक महिनामा एउटा विदेशी वायुसेवा कम्पनीले अधिकतम चारवटासम्मको उडान अनुमति पाएका छन् । मन्त्रालयले तय गरेको तालिका अनुसार १८ भदौ र १ असोजमा दैनिक तीन वटा उडान हुनेछन् ।
    उक्त दुई दिन दुई विदेशी र एक नेपाली वायुसेवाको गरी तीन वटा उडान भर्ने भएका छन् । इस्तानबुलबाट टर्किस र हङकङको क्याथे ड्रयागनको उडान एकैदिन परेकोले यसको उडान भएका ती दुबै दिन तीनवटा र अन्य सबै दिन एउटा विदेशी र एउटा स्वदेशी वायुसेवाको एक उडान गर्ने गरी मन्त्रालयले तालिका बनाएको छ । यसका साथै अन्य दिन स्वदेशी र विदेशी वायुसेवाका एक÷एकवटा उडान गर्ने गरी तालिका तय भएको छ ।
    नेपालमा यसअघि उडान तालिका फिक्स गरिएका वायुसेवालाई सातामा एउटासम्मको उडान अनुमित दिइएको नियमित उडान तालिकामा उल्लेख गरिएको छ । पीसीआर परीक्षण सहज भएका मुलुकबाट मात्रै दैनिक ५०० जनासम्म यात्रु उडान गर्ने गरी उडानको तालिका तय गरिएको हो ।
    चाडवाड नजिकिएसँगै सरकारले चाडपर्व लक्षित हवाइ उडान सुरु गर्ने भएको छ । दसैं–तिहारजस्ता चाडलाई ध्यानमा राख्दै आवतजावतलाई सहज बनाउन मन्त्रालयले उडान खोल्ने तयारी गरेको हो । चाड पर्वलाई लक्षित गरी उडान खोल्न तयारी भइरहेको मन्त्रालयले बताएको छ ।

    प्रतिकृया दिनुहोस्