News Portal

  • राष्ट्रिय बाणिज्य बैंकद्वारा ऊर्जा बचत कार्य गरेवापत १३ कम्पनीलाई अनुदान रकम हस्तान्तरण

    आर्थीकसंसार संवाददाता१२ कार्तिक, २०७८
    १११७ पटक
    १२ कार्तिक, २०७८

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकद्वारा जर्मन सरकारबाट KFW बैंकमार्फत प्राप्त अनुदान सहयोगमा सञ्चालित ‘Energy Efficiency Program Nepal’ को अनुदान सहयोग कार्यक्रमअन्तर्गत शुक्रबार छ करोड ५० लाख रुपैयाँ रकम हस्तान्तरण गरेको छ ।
    बैंकले एशियन थाई फुड्स, जस्मिन हाइजिन प्रोडक्ट्स्, ताजा फुड्सलाई एक÷एक करोड रुपैयाँ, नेपाल वायर्स एण्ड केवल लाई ६४ लाख ८४ हजार रुपैयाँ, पञ्चकन्या स्टिल इन्डष्ट्रिजलाई ६३ लाख ९१ हजार रुपैयाँ, पञ्चकन्या मेटल इन्जिनियरिङ्गलाई ४४ लाख १९ हजार रुपैयाँ, एसआर स्टिल इन्डष्ट्रिजलाई ४३ लाख २१ हजार रुपैयाँ, क्युमेड फर्मुलेसनलाई ३१ लाख ६१ हजार रुपैयाँ, इलाम टी प्रोड्युसरलाई २९ लाख ६९ हजार रुपैंया, ओहम फर्मम्युट्रीकल्स ल्याब्रोट्रिजलाई २४ लाख ९४ हजार रुपैयाँ, पञ्चकन्या प्लास्टिक इन्डष्ट्रिजलाई २२ लाख ५८ हजार रुपैयाँ, हिमालयन नेचुरललाई १७ लाख ४० हजार रुपैयाँ र विजयदीप ल्याब्रोट्रिजलाई ८ लाख ४५ हजार रुपैयाँ रकम हस्तान्तरण गरेको छ । मितव्ययी तथा प्रभावकारी ऊर्जा बचत हुने गरी कम्पनीहरुले यन्त्र उपकरण जडान गरेको हुँदा स्वीकृत अनुदान कार्यविधिअनुसार अनुदान सहयोग सम्झौता आदानप्रदान तथा अनुदान रकमको चेक एक समारोहका बीच हस्तान्तरण गरिएको हो ।
    बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले चेक रकम हस्तान्तरण गर्दै यो अनुदान रकमले व्यवसायको अन्य पक्षको पनि सुधार हुने बताउँदै हालसम्म ३० वटाभन्दा बढी उद्योगहरुलाई १६ करोड ३५ लाख रुपैयाँभन्दा बढी अनुदान रकम हस्तान्तरण गरिसकेको बताउनुभयो । नेपाल सरकार र जर्मन सरकार बीच सन् २०१३ मा नेपालको औद्योगिक तथा व्यापारिक क्षेत्रमा मितव्ययी तथा प्रभावकारी ऊर्जा बचत गर्ने सम्झौताबमोजिम राष्ट्रिय वाणिज्य बैंकले ‘Energy Efficiency Program Nepal’ आयोजना कार्यान्वयनको लागि Project Executing Agency (PEA) को रुपमा सहायता सम्बन्धी कार्य गर्ने गरेको छ ।
    यस आयोजनाअन्तर्गत नेपालमा सञ्चालित ठूला, साना तथा मझौला उद्योग र फर्महरुलाई मितव्ययी तथा प्रभावकारी ऊर्जा बचत हुने गरी यन्त्र उपकरण जडान गर्दा जर्मन सहायताबाट प्राप्त हुने रकमबाट लागतको १५ देखि ३९ प्रतिशतसम्म अनुदान रकम राष्ट्रिय वाणिज्य बैंकमार्फत उपलव्ध गराइने छ । यस आयोजनाअन्तर्गत कुनै एक ईकाइले मितव्ययी तथा प्रभावकारी ऊर्जा बचत हुने गरी यन्त्र उपकरणमा लगानी गरेमा स्वीकृत अनुदान कार्यविधि भित्र रही अधिकतम रु. १ करोडसम्मको अनुदान रकमको सीमा कायम गरिएको छ ।
    उक्त समारोहमा NEEP कार्यक्रमका व्यवसायजन्य स्वास्थ्य तथा सुरक्षा विज्ञ डा. दुर्गा कारणजीत, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी, उपकार्यकारी अधिकृतहरु सरस्वती अधिकारी, देवेशप्रसाद लोहनी, देवेन्द्ररमण खनाल, विभागीय प्रमुखहरु पवन रेग्मी, विमल डङ्गोल, विनयरमण पौडेल, उप प्रबन्धक होमराज भट्टराई, एडेल्फीका कन्सल्टेण्ट ज्ञानेन्द्र उपाध्याय, अनुदान रकम प्राप्त गर्ने कम्पनीका अधिकारीहरुलगायत कर्मचारीहरुकोे उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस्