
काठमाडौं । एभरेष्ट बैंक लिमिटेड र चिनो हाइड्रोपावर लिमिटेडबीच मनाङ जिल्लास्थित चिनो खोलामा निर्माण हुन लागेको २६ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माणका लागि आवश्यक वित्तीय व्यवस्थापन गर्न सहमति भएको छ ।
यस सम्बन्धमा आयोजित एक समारोहमा एभरेष्ट बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र चिनो हाइड्रोपावर लिमिटेडका तर्फबाट अध्यक्ष विजय बहादुर श्रेष्ठले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।
उक्त आयोजना बुटवल पावर कम्पनी लिमिटेडको प्रवर्द्धनमा सञ्चालित आयोजना हो, जसलाई दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ चिनियाँ ठेकेदारलाई इञ्जिनियरिङ, खरीद तथा निर्माण (ईपीसी) मोडलमा जिम्मा दिइएको छ । आयोजनाबाट उत्पादित विद्युत् मनाङ जिल्लाको धारापानीस्थित सव स्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ।
यस परियोजनासम्बन्धी विद्युत् खरिद–बिक्री सम्झौता नेपाल विद्युत् प्राधिकरण र चिनो हाइड्रोपावर लिमिटेडबीच गत वैशाख महिनामा सम्पन्न भइसकेको छ। आयोजनाबाट वार्षिक करिब १४३।७२ गिगावाट–घण्टा विद्युत् उत्पादन हुने अपेक्षा गरिएको छ ।
पञ्जाब नेशनल बैंक, भारतसँगको संयुक्त लगानीमा स्थापना भएको एभरेष्ट बैंक लिमिटेडले हालसम्म करिब १३ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ । देशभर १२७ शाखा सञ्जाल, ७ एक्सटेन्सन काउण्टर, ३ प्रादेशिक कार्यालय तथा १६० भन्दा बढी एटिएममार्फत सेवा विस्तार गरिरहेको बैंकले अत्याधुनिक मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र कार्ड बैंकिङ सेवा उपलब्ध गराइरहेको छ। साथै, सरकारले तोकेको ५४ वटा राजस्व संकलन केन्द्रमार्फत सरकारी राजस्व संकलनको कार्यमा समेत सक्रिय रहेको छ ।
बैंकले भारतको नयाँ दिल्लीसहित अन्य मुलुकहरूमा प्रतिनिधि कार्यालय स्थापना गरी अन्तर्राष्ट्रिय सेवा विस्तार गरिरहेको जानकारी दिइएको छ ।