४ मंसिर, २०८३काठमाडौं । झापाको दमकस्थित भाटभटेनी सुपर स्टोर शनिबारदेखि पुनः सञ्चालनमा आउने भएको छ । आगलागीका कारण बन्द भएको स्टोर मंसिर ५ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आउन लागेको हो ।
भाटभटेनी सुपर मार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले शुक्रबार विज्ञप्ति जारी गर्दै दमक स्टोर पुनः सञ्चालनमा आउन लागेको जानकारी दिएका हुन् ।
कम्पनीका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलका अनुसार स्टोरले शनिबारदेखि दैनिक रूपमा नियमित सेवा प्रदान गर्नेछ ।
कम्पनीले ठूलो क्षति बेहोर्नुपरे पनि व्यावसायिक गतिविधि र कर्मचारीप्रतिको जिम्मेवारीलाई निरन्तरता दिएको जनाएको छ । भाटभटेनीमा कार्यरत १० हजारभन्दा बढी कर्मचारीको रोजगारीमा असर पर्न नदिएको कम्पनीको भनाइ छ । आगलागीबाट पूर्ण रूपमा क्षति भएका स्टोरहरूको पुनर्निर्माणमा समय, स्रोत र ठूलो लगानी आवश्यक पर्ने भए पनि चौबिसै घण्टा काम गरेर ग्राहकलाई पुनः सेवा दिन सफल भएको कम्पनीले जनाएको छ ।
पुनः सञ्चालनमा आउन लागेको दमक स्टोरमार्फत ग्राहकलाई आधुनिक सुविधा र गुणस्तरीय सेवा उपलब्ध गराउने प्रतिबद्धता पनि कम्पनीले दोहोर्याएको छ ।
कम्पनीले पुनर्निर्माणमा सहयोग गर्ने कर्मचारी, शुभेच्छुक तथा ग्राहकप्रति आभार व्यक्त गरेको छ । स्टोर पुनः सञ्चालनको प्रतीक्षामा रहेका ग्राहकलाई धन्यवाद दिँदै आगामी दिनमा पनि साथ र सहयोगको अपेक्षा गरेको छ ।



