News Portal

  • बसपार्कमा यात्रु सहायता कक्ष सञ्चालन, थप १४ स्थानमा पनि राखिने

    आर्थीकसंसार संवाददाता१६ असोज, २०८३
    १७ पटक
    १६ असोज, २०८३

    काठमाडौं । नजिकिँदै गरेका विजया दशमी, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुको सुरक्षित, व्यवस्थित र सहज यात्राका लागि यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ ।

    ‘सुरक्षित सडक र सवारी, हामी सबैको जिम्मेवारी’भन्ने नारासहित शुक्रबार (आज) काठमाडौंको नयाँबसपार्कमा यात्रु सहायता कक्ष–२०८३ को शुभारम्भ गरिएको हो ।

    काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुशीलसिंह राठौरले रिबन काटेर सहायता कक्षको शुभारम्भ गरे ।

    यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, सामुदायिक प्रहरी, यातायात व्यवसायी तथा उपभोक्ता समूहका प्रतिनिधिको संयुक्त पहलमा सहायता कक्ष स्थापना गरिएको हो ।

    नयाँ बसपार्कसहित माछापोखरी, टोखा, तीनपिप्ले, भीमढुंगा, नाङ्लेभार, कलंकी, बल्खु, नागढुंगा, कोटेश्वर, चावहिल, फर्पिङ, साँखु, चापागाउँ र जगाती गरी उपत्यकाका १५ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिनेछ ।

    शुभारम्भ कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक राठौरले चाडपर्वका बेला यात्रुको बाध्यता र बढ्दो चापलाई अनुचित आर्थिक लाभ लिने अवसर बनाउन नहुने बताए ।

    क्षमता भन्दा बढी यात्रु चढाउने, तोकिएको भन्दा बढी भाडा असुल्ने, टिकटमा कालोबजारी गर्ने, टिकट नदिने तथा यात्रुसँग अनावश्यक शुल्क असुल्ने र दुव्र्यवहार गर्ने जस्ता गतिविधि भएमा प्रचलित कानुनअनुसार कारबाही गरिने उनले स्पष्ट पारे ।

    कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौला र नेपाल यातायात स्वतन्त्र मजदुर संघका केन्द्रीय उपाध्यक्ष नवराज घिमिरेले पनि मन्तव्य राखेका थिए ।

    काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्लेले यात्रुलाई पर्न सक्ने समस्या समाधान तथा यात्रामा सहजीकरण गर्न बढी भिडभाड हुने स्थानलाई लक्षित गरी सहायता कक्ष स्थापना गरिएको बताए ।

    सहायता कक्षबाट यात्रुलाई सुरक्षाको अनुभूति दिलाउने, सुरक्षित आवागमनका लागि सूचना तथा सचेतना प्रदान गर्ने, यात्रुका गुनासा सम्बोधन गर्ने र भाडादरको निगरानी गर्ने व्यवस्था गरिएको छ ।

    यस्तै, फर्जी टिकटमाथि कारबाही, आधिकारिक व्यक्तिबाट टिकट जारी भए–नभएको जाँच तथा मनसुनजन्य विपद्का कारण सवारी आवागमन अवरुद्ध भए त्यससम्बन्धी जानकारीसमेत उपलब्ध गराइनेछ ।

    कार्यक्रममा यातायात व्यवसायी, चालक, परिचालक, यात्रु, सरोकारवाला तथा सञ्चारकर्मीको उपस्थिति थियो ।

    प्रतिकृया दिनुहोस्