News Portal

  • सञ्चालन खर्च र खाताको लागत कटौती गर्न धमाधम बीमा सुविधा रद्द गर्दै बैंकहरु

    आर्थीकसंसार संवाददाता१५ असोज, २०८३
    १८ पटक
    १५ असोज, २०८३

    काठमाडौं । पछिल्लो समय कर्जा प्रवाहमा सुस्तता र निक्षेप थुप्रिँदा बैंकहरु दबाबमा पर्दै आएका छन्। यसले गर्दा सञ्चालन खर्च धान्न नसक्ने अवस्थामा बैंकहरु पुगेका छन्।

    यही कारणले वाणिज्य बैंकहरुले ग्राहकलाई दिँदै आएको सुविधा कटौती गर्न थालेका छन्। उनीहरुले सञ्चालन खर्च र खाताको लागत कटौती गर्न बीमा सुविधा रद्दको घोषणा गर्न थालेका छन्।

    यसको पछिल्लो उदाहरण हो, सानिमा बैंक । यो बैंकले असोज १४ गतेदेखि लागू हुने गरी विभिन्न बचत खाताहरु (सुनौलो बचत खाता, सानिमा सुपर सेभिङ, सानिमा फेमिली सुपर सेभिङ र सानिमा दिर्घायु तलब खाता) प्रदान गर्दै आएको बीमा सुविधा हटाएको छ।

    सानिमा बैंकमात्र होइन अन्य बैंकहरुले यस्ता सुविधा कटौती गरिरहेका छन्। बैंकहरुले मुद्दति निक्षेप तथा न्यूनतम १० हजार वा सोभन्दा अधिक नगद जम्मा हुने गरी बचत तथा मुद्दति निक्षेप खातावाला ग्राहकलाई १ लाखदेखि १० लाख रुपैयाँसम्मको दुर्घटना बीमा स्वास्थ्य उपचार बीमा र जीवन बीमासमेतको सुविधा उपलब्ध गराउँदै आएका थिए।

    नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले बैंकहरुको सञ्चालन खर्च बढेका कारण बचत खातामा दिँदै आएको बीमा सुविधा कटौती गरेको हुन सक्ने बताए। ‘अब खाता खोल्दा कति अवधिका लागि बीमा सुविधा हो भन्ने विषयमा ग्राहकको चसो हुन सक्छ वा ग्राहकले एक्कासि यो सुविधा खोसिँदा नकारात्मक दृष्टिकोण राखेको हुन सक्छ’, उनले भने, ‘यस विषयमा हामी बैंक तथा वित्तीय संस्थाहरुसँग कुरा गर्छौं र वास्ताविता पहिल्याएर समस्या समाधान गर्ने कोसिस गर्छौं।’

    यद्यपि, प्रवक्ता पौडेलले बैंकबाट बीमा सुविधा दिने कुरा यसअघि नै हटाइसकेको बताए। ‘केही बैंकले राष्ट्र बैंकले यो कुरा हटाउनुअघि बीमा सुविधा दिएको थियो भने त्यस विषयमा हामी कुरा गर्छौं’, उनले भने।

    प्रतिकृया दिनुहोस्