Skip

News Portal

  • नेशनल लाइफको कर्मचारी सीप अभिवृद्धि कार्यक्रम सम्पन्न

    आर्थीकसंसार संवाददाता१३ असोज, २०८३
    १७ पटक
    १३ असोज, २०८३

    काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारीको क्षमता, कार्यदक्षता र व्यावसायिक सीप अभिवृद्धिका लागि आयोजना गरेको चारदिने कर्मचारी सीप अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको छ ।

    नेपालगञ्जस्थित होटल सिद्धार्थमा आयोजित कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत, व्यवस्थापन टोली, विभागीय प्रमुख तथा प्रशासनिक कर्मचारी गरी ३०० भन्दा बढीको सहभागिता रहेको थियो ।

    कम्पनीकी अध्यक्ष प्रेमाराज्य लक्ष्मी सिंहको अध्यक्षतामा भएको कार्यक्रममा कर्मचारीलाई प्राविधिक रूपमा सक्षम बनाउन आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र डिजिटल प्रविधिसम्बन्धी तालिमलाई प्राथमिकता दिने बताइएको थियो । कर्मचारीको क्षमता अभिवृद्धिले कम्पनीको व्यवसाय विस्तारमा समेत सहयोग पुग्ने अध्यक्ष सिंहले बताइन् ।

    कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन गर्ने सात जना कर्मचारीलाई ‘बेस्ट इम्प्लोई अवार्ड–२०८३’ प्रदान गरिएको थियो । सम्मानित हुनेमा शिवेश ठाकुर, गीता कुमारी थिङ, रुक्मणी कुमारी शर्मा, अनिल श्रेष्ठ, सुवासमणि पोखरेल, प्रमिला मल्ल र विष्णुजंग शाही रहेका छन् । उनीहरूलाई नगद पुरस्कारसहित सम्मानपत्र प्रदान गरिएको थियो ।

    कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले ग्राहकलाई सरल, छिटो र सम्मानजनक सेवा दिनुपर्नेमा जोड दिए । उनले संस्थाका नीति तथा नियमको पालना र कामप्रतिको जवाफदेहितालाई संस्थागत संस्कारका रूपमा विकास गर्नुपर्ने बताए ।

    कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक शाम्भराज लामिछानेले बीमाको माध्यमबाट हुनसक्ने सम्पत्ति शुद्धीकरणका गतिविधिप्रति सचेत रहन कर्मचारीलाई आग्रह गरे । प्रशिक्षक विश्वराज पौडेलले एआईको प्रयोगसम्बन्धी व्यावहारिक प्रशिक्षण दिए भने संजोग कोइरालाले कर्मचारीको व्यवहार र आचरणले संस्थाको पहिचानमा पार्ने प्रभावबारे प्रशिक्षण दिएका थिए ।

    कार्यक्रममा कर्मचारीको सिर्जनात्मकता, नेतृत्व क्षमता, सहकार्य र कार्यसम्पादन बढाउने उद्देश्यले विभिन्न अतिरिक्त गतिविधि पनि सञ्चालन गरिएको थियो । सातै प्रदेशबाट सहभागी कर्मचारीले दैनिक कार्यसँग सम्बन्धित विषयमा नाटक प्रस्तुत गरेका थिए ।

    त्यस्तै, विभागीय प्रमुखसँग प्यानल छलफल, कर्मचारीबीच परीक्षा तथा फुटसल, टेबल टेनिस र टग अफ वारलगायत खेलकुद प्रतियोगिता आयोजना गरिएको थियो। विजेता टोली तथा खेलाडीलाई पुरस्कार र सम्मान प्रदान गरिएको कम्पनीले जनाएको छ ।

    कार्यक्रमको अन्तिम दिन कर्मचारीलाई मनोरञ्जन तथा विश्रामका लागि कर्णाली चिसापानी भ्रमणसमेत गराइएको थियो ।

    कम्पनीले चारदिने कार्यक्रमले कर्मचारीको प्राविधिक ज्ञान, व्यावसायिक दक्षता, नेतृत्व क्षमता, व्यवहार र संस्थागत कार्यसंस्कृति विकासमा सहयोग पुग्ने अपेक्षा गरेको जनाएको छ ।

    प्रतिकृया दिनुहोस्