१८ भदौ, २०८३काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि २५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
कम्पनीले भदौ १० गते आएको बाढीबाट प्रभावित परिवार तथा समुदायलाई राहत पुर्याउने उद्देश्यले उक्त रकम उपलब्ध गराएको जनाएको छ ।
बाढीमा ज्यान गुमाएकाहरूप्रति कम्पनीले श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ ।
प्राकृतिक विपद्का कारण प्रभावित परिवार र स्थानीय समुदायले ठूलो पीडा तथा चुनौती सामना गर्नुपरेको कम्पनीले जनाएको छ । यस्तो कठिन समयमा सामाजिक उत्तरदायित्व निर्वाह गर्नु सबै जिम्मेवार संस्था र नागरिकको साझा दायित्व रहेको प्रभु इन्स्योरेन्सको भनाइ छ ।
कम्पनीका अनुसार २५ लाख रुपैयाँको सहयोगले पीडितले भोगेको क्षतिको पूर्ण क्षतिपूर्ति गर्न नसके पनि संकटको समयमा प्रभावित परिवार तथा समुदायसँगै रहेको सन्देश दिन सहयोग पुग्नेछ ।
प्रभु इन्स्योरेन्सले विपत्तिबाट प्रभावित नागरिक एक्ला नरहेको बताउँदै राहत तथा पुनःस्थापनाका लागि आवश्यक सहयोग र सहकार्य गर्न आफू प्रतिबद्ध रहेको जनाएको छ ।
कम्पनीका अध्यक्ष राजेन्द्र मल्लले बीमा व्यवसायको मूल उद्देश्य जोखिम र विपत्तिको समयमा बीमितको संरक्षण गर्नु रहेको बताए। कठिन परिस्थितिमा बीमितलाई भरोसायोग्य साथ दिनुपर्ने उनको भनाइ छ ।
उनले बाढीबाट प्रभावित बीमितको दाबीसम्बन्धी प्रक्रियालाई आवश्यक कानुनी तथा प्राविधिक प्रक्रिया पूरा गरी सकेसम्म छिटो, सरल, पारदर्शी र प्रभावकारी रूपमा टुंग्याउने प्रतिबद्धता व्यक्त गरे ।
प्रभावित बीमितले थप असहजता र झन्झट व्यहोर्नु नपरोस् भन्ने विषयलाई कम्पनीले प्राथमिकतामा राखेको जनाएको छ । आवश्यक सहजीकरण, समन्वय र सेवा प्रवाहमार्फत प्रभावित बीमितलाई सहयोग गरिने कम्पनीले जनाएको छ ।
प्रभु इन्स्योरेन्सले उद्धार, राहत तथा पुनःस्थापनामा खटिएका सरकारी निकाय, सुरक्षा निकाय, स्थानीय समुदाय, स्वयंसेवक तथा सहयोगी संघसंस्थाप्रति आभार व्यक्त गरेको छ ।
सबै पक्षको साझा प्रयास, सहकार्य र ऐक्यबद्धताबाट प्रभावित क्षेत्रको पुनःनिर्माण तथा पुनःस्थापनाको काम प्रभावकारी रूपमा अघि बढ्ने कम्पनीले विश्वास व्यक्त गरेको छ ।
