News Portal

  • सेनाद्वारा आज १०९ जनाको उद्धार, टनेलमा के-के भइरहेको छ ?

    आर्थीकसंसार संवाददाता१५ भदौ, २०८३
    १७ पटक
    १५ भदौ, २०८३

    काठमाडौँ । भोटेकोशी बाढी प्रभावित क्षेत्रबाट सोमबार नेपाली सेनाले जर्मन नागरिकसहित १०९ जनाको उद्धार गरेको छ । हवाइ, जमिनी खोज तथा टनेल रेस्क्युअन्तर्गत उनीहरुको उद्धार गरिएको हो ।

    सैनिक मुख्यालयका अनुसार जलविद्युत परियोजना त्रिशूली ‘थ्री ए’मा टनेल हेड फेला परेको छ भने कम्प्रेसरबाट हावा दिने र पानी निकाल्ने काम भइरहेको छ ।

    त्यहीँ तीनवटा एक्साभेटरबाट पछाडितर्फ रहेको १५ मिटर वैकल्पिक मार्ग खोलिएको छ । यस्तै, त्रिशूली ‘थ्री बी’मा विज्ञसहितको फौज खटिएको छ ।

    चिलिमे हाइड्रो टनेलको ३५ मिटर भित्रसम्म पुगेर अगाडि क्लियर गर्ने काम भइरहेको सेनाले जनाएको छ । यहाँ विदेशीसहितको संयुक्त खोज तथा उद्धार टोली परिचालित छ ।
    अपर त्रिशूली-१ मा विदेशीसहितको संयुक्त खोज तथा उद्धार टोलीले मैलुङमा २०० मिटर र हाँकूमा ३०० मिटरसम्म पुगेर खोजी कार्य गरेको सेनाले जनाएको छ । उक्त संयुक्त उद्धार टोलीले रसुवागढी हाइड्रोको टनेलमा करिब २५० मिटरसम्म पुगी टनेलको बन्द भाग फेला पारेको थियो ।

    सोही टोलीले लाङटाङ हाइड्रोको टनेलमा करिब ६५ मिटरसम्म पुगेर एउटा शव सङ्कलन गरेको छ । प्रभावित क्षेत्रका जङ्गल एवम् डाँडाका खोला र बस्ती इलाकामा स्थानीयलाई सुरक्षा प्रत्याभूति दिलाइएको सैनिक मुख्यालयले जनाएको छ ।

    उद्धारको आवश्यकता मूल्याङ्कन गर्नको लागि पैदल गस्ती गरी आम जनसमुदायसँग अवस्था बुझ्ने काम भएको जनाइएको छ ।
    त्यसक्रममा सेनाको टोलीले टिमुरे इलाकामा ५ वटा (नेपाली भाषाको अक्षर भएको-३ र चिनिया भाषाको अक्षर भएको-२) सेफ फेला पारी सशस्त्र प्रहरीलाई भरपाई गरी बुझाएको छ ।

    त्रिशूली र धुन्चेमा स्थापना भएको आपत्कालीन उपचार केन्द्रहरूबाट आज जम्मा १६५ जनालाई स्वास्थ्य सेवा प्रदान गरिएको छ । रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वका प्रभावित क्षेत्रहरूमा नेपाली सेनाका ८ हजार ९ सय भन्दा बढी फौज प्रत्यक्ष रूपमा खटिएको छ ।

    समन्वयात्मक रूपमा घाइतेहरूको खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, अवरुद्ध सडक सुचारु एवम् आपत्कालीन उपचार कार्य गरिरहेको सेनाले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्